गृहपृष्ठ अब पीसीआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई

अब पीसीआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई

सबै प्रयोगशालाले अब पीसीआर परीक्षणको रिर्पोटसम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिएको बताए ।

यसअघि प्रयोगशालाले रिर्पोट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए । यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजेटिभ देखिएका व्यक्तिलाई संक्रमण भएको जानकारी दिने गर्दथ्यो । नेपालमा नौ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३९४ जना संक्रमित भएका छन् ।

‘पहिलो पोजेटिभ आएका संक्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौँ । अहिले आएर होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘धेरै संक्रमित घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफैँ जानकारी गराउने छन् ।’ मन्त्रालयले पोजेटिभ रिपोर्ट आएकालाई उपचारका लागि महाशाखालाई जानकारी गराउन भनेको थियो ।

यस्तै काठमाडौँ, मोरङ, चितवन र सुर्खेतमा संक्रमणको दर उच्च देखिएको छ । ती स्थानमा ६० वर्ष उमेर पुगेका, दीर्घरोगीलाई घरबाट ननिस्कन मन्त्रालयका प्रवक्ता डा. गौतमले आग्रह गरे ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु