गृहपृष्ठ कर्णालीमा थप ५१ संक्रमित, ४५ संक्रमणमुक्त

कर्णालीमा थप ५१ संक्रमित, ४५ संक्रमणमुक्त

पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ संक्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

‘शनिबार पुष्टि भएका संक्रमितमा गृहणीदेखि क्याम्पस लेक्चररसम्म छन्,’ स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भने, ‘बाह्र जना त स्वास्थ्यकर्मी मात्रै छन् । शनिबार पुनः ५१ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन हजार ७८० पुगेको छ ।’ संक्रमितमा सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र प्रदेशबाहिरका तीन व्यक्ति रहेको उनले बताए ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका दुई, स्वास्थ्यकर्मी १२, बहालवाला दुई र अवकाश एकसहित तीन कर्मचारी, क्वारेन्टिनमा रहेका पाँच, विद्यार्थी चार, व्यापारी तीन, कृषक, नेपाली सेना, गृहणी, लेक्चरर, सहकारी, सुनचाँदी पसल र शिक्षक एक÷एक व्यक्ति रहेका छन् । दैलेखमा भने नौ नागरिकमा संक्रमण देखिएको हो ।

त्यस्तै शनिबार ४५ जना कोरोना संक्रमणमुक्त भएसँगै कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको संख्या तीन हजार ९० पुगेको अधिकृत कँडेलको भनाइ छ । प्रदेशका विभिन्न आइसोलेसनमा ६०५ जना रहेका छन् । कोरोना महामारीका रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँका सबै क्षेत्रमा संक्रमण फैलिँदै गएको जनाइएको छ । (रासस)

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु