गृहपृष्ठ महिलामाथि शृंखलाबद्ध बर्बरता
महिलामाथि शृंखलाबद्ध बर्बरता
नैतिकताका नाममा अपमान र कुटपिट गर्नेलाई कडाभन्दा कडा कारबाही गरिने : एसएसपी बास्तोला
हुम्लाको सिमकोट गाउँपालिका ७ को डाँडाफायाकी २३ वर्षीया महिला शुक्रबार बिहान खेतमा काम गर्न गएकी थिइन् । दुई छोरा छोरीकी आमा खेतमा काम गर्दै थिइन् । उनका २६ वर्षीय श्रीमान् धनबहादुर शाही मेलामा गइपुगे । उनले ती महिलाको फोन खोसे र त्यहाँ भएको नम्बर चेक गर्न थाले । तैँले क-कसलाई खेतबारीमा काम गर्न आउने बाहानामा फोन गर्छेस भन्दै कुट्न थाले । धनबहादुरले श्रीमतीलाई कुट्दै घरमा ल्याए । त्यति मात्रै होइन गाउँले बोलाएर कालो मोसो दली, चप्पलको माला लगाई, कपालसमेत मुन्डन गरी गाउँभरि घुमाए ।
‘मलाई कुट्न महिलाहरु भने कोही आएनन्,’ उनले भनिन्, ‘मेरो घरपट्टीकै सन्तानहरुले कुटेका हुन् । सबै नाताले देवर, जेठाजू र ससुरा पर्छन् ।’ आफूले कुनै पनि गल्ती नगर्दासमेत गाउँभरिका मान्छे लागेर आफूलाई अमानवीय व्यवहार गरेको उनले बताइन् । ‘करीब तीन/चार घण्टासम्म अमानवीय यातना दिएर पनि दुबैलाई नांगै बनाउने योजना बनाएका थिए,’ ‘विभिन्न यातना दिएर पनि फेरि नांगै बनाएर गाउँ घुमाउने तयारीमा थिए । केही व्यक्तिहरूको आग्रहमा त्यसो गरिएन ।’ पीडित महिलाले सुनाइन् ।
काम परेको समयमा कुरा हुने गरेका घरपट्टीकै आफन्तलाई संका गरी आरोप लगाएको उनले बताइन् । शरीरभरि निलडाम हुनेगरी कुटाई पाएकी उनले जिल्ला प्रहरी कार्यालय हुम्लामा पीडकहरुलाई कारबाहीको लागि निवेदन दर्ता गरेकी छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले कुटपिटमा संलग्न सात जना र श्रीमान् धनबहादुरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार दिउँसो करिब १ बजे प्रहरीलाई घटनाको बारेमा खबर आएपछि टोली पीडित महिलालाई उद्धार गरी ल्याएको हो । पीडित महिला गाउँपालिकाको महिला तथा बालबालिकाको सेवा केन्द्रको संरक्षणमा बस्दै आएकी छन् ।
वि.सं. २०७५ जेठ १९ गते कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ९ की वडा सदस्य मना सार्कीको हत्या गरियो । स्थानीय २५ वर्षीय राजिन्द्रा शाही र उनकी बहिनी २१ वर्षीय सिर्जना शाहीले आफ्नो बुवासँग अनैतिक सम्बन्ध राखेको भन्दै मनालाई कुटपिट गरी हत्या गरेका हुन् । जेठ १२ गते धारामा पानी भर्न गएकी मना सार्कीलाई राजिन्द्राकी आमाले विभेदजन्य गाली गर्दै धारो छुनसमेत दिएकी थिइनन् । भारतमा रहँदा मनाका श्रीमानबाट राजिन्द्राका बुवाले २५ हजार रूपैयाँ सापटी लिएका थिए । आफ्ना श्रीमानबाट लिएको उक्त रकम माग्न जाँदा उनलाई उल्टै आफ्नो श्रीमानसँग ‘उठबस’ गरेको आरोप राजिन्द्राकी आमाले समेत लगाउँदै आएकी थिइन् ।
मना सार्की जेठ १९ गते बेलुकी साढे ५ बजेतिर आफ्नो बारीमा प्याज उखेल्न जाँदै गर्दा मारिइन् । बारीमा लुकेर बसेका राजिन्द्रा र सिर्जनाले उनीमाथि एक्कासी कुटपिट गरेका थिए । उनीहरूको कुटाईपछि ज्यान बचाउन मना छिमेकी तपेन्द्र शाहीको घरमा पुगिन् । तर, उनीहरूले मना लुकेको स्थानमै गइ लाठी र ढुंगा प्रहार गरी शख्त घाइते बनाए । गाउँलेसँग हारगुहार गरेपछि उनलाई राति घर त पु¥याइयो तर, घर ल्याएको दश मिनेटमै उनको मृत्यु भयो ।
यी त केही उदाहरण मात्रै हुन् महिलामाथि कुनै न कुनै कारण देखाई अमानवीय व्यवहार गरेका घटना प्रहरी र अदालतमा आउने गरेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेशभर आर्थिक वर्ष २०७६÷०७७ मा ६२७ घरेलुहिंसा का घटना दर्ता भएका छन् । सुर्खेतमा ३५५, दैलेखमा ७९, जाजरकोटमा ५६, रुकुम पश्चिमा १२, सल्यानमा १५, जुम्लामा ३९, हुम्लामा १७, मुगुमा ५, डोल्पामा ४२ र कालिकोटमा ७ वटा घटना दर्ता भएका छन् ।
कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले महिलाले गलत नै गरेको भए पनि कसैले पनि कानुन हालमा लिई अपमानजन्य हिंसा गर्न नहुने बताए । ‘हुम्लाको घटनामा हामीहरुले स्पष्ट निर्देशन दिएका छौं,’ उनले भने, ‘पीडकलाई कुनै पनि उन्मुक्ति नदिई कानुन बमोजिमको सजाय दिनु भनेर ।’ उनले मानवअधिकारको ख्यालै नगरी नैतिकताका नाममा अपमान र कुटपिट गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।
अधिवक्ता गीता कोइरालाले समेत अधिकांश महिलाहरु श्रीमान् तथा परिवारका अन्य सदस्यहरुले नाता पर्नेहरुसँगै बोलेको आरोपमा गालीगौलच र कुटपिट गरेपछि अदालतसम्म आउने गरेको बताउँछिन् । महिलाहरु आफूबाहेक अन्य पुरुषसँग बोले अनैतिक सम्झिने सोच अझै पनि समाजमा रहेको उनको तर्क छ । पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्नुको मुख्य कारणसमेत यही भएको उनले बताइन् ।
मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद १० मा भेदभाव तथा अन्य अपमानजन्य अपराध सम्बन्धि कसुरको व्यवस्था गरिएको छ । जसको दफा १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने भनी उल्लेख छ । बोक्सीको आरोप लगाउने, सामाजिक बहिष्कार गर्ने र अन्य जुनसुकै अपमानजन्य तथा अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुनेछ भनी स्पष्ट व्यवस्था रहेको छ । तर पनि महिलामाथि हुने यस्ता खालको बर्वरतामा कमी आएको देखिँदैन ।
प्रकाशित समय ०८:२१ बजे

















