गृहपृष्ठ ४३६४ संक्रमित थपिए, २६७५ जना डिस्चार्ज
४३६४ संक्रमित थपिए, २६७५ जना डिस्चार्ज
संक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर १८४७३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।
थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको हाे ।
बुधबार १४ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका थिए । मंगलबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
देशभर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर संक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ । आइसोलेसनमा ११ हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । क्वारेन्टिनमा रहनेको संख्या ४ हजार ४ सय ६० छ ।
मन्त्रालयका अनुसार बुधबार २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
नेपालमा थप १२ जनाकाे काेराेना कारण मृत्यु भएकाे छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ५९० पुगेकाे छ ।
प्रकाशित समय १६:२७ बजे

















