गृहपृष्ठ कोरोना व्यापक फैलिएपछि बल्ल समुदायमा फैलिएकोबारे अध्ययन
कोरोना व्यापक फैलिएपछि बल्ल समुदायमा फैलिएकोबारे अध्ययन
सरकारले कोभिड– १९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ ।
काठमाडौँमा तालीमपश्चात टोलीलाई आज प्रदेशमा खटाइएको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिए । अध्ययनबाट नेपालमा समुदायस्तरमा संक्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाइने उनको भनाइ छ ।
एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । टोली सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालिमपश्चात आइतबारबाट रगतको नमूना संकलन गर्नेछ ।
नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको दाबी गरिँदै आइएको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो ।
सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
‘नेपालमा अहिले केही जिल्लाका खासखास ठाउँमा (क्लस्टरं)मा संक्रमण फैलिएको छ’, उनले भने, ‘अब समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ ।’
गत माघ १० गते नेपालमा पहिलो पटक संक्रमण देखिएको थियो । अहिलेसम्म ९८ हजार ६१७ जनामा संक्रमण देखिएको छ । यीमध्ये ७१ हजार ३४३ जना संक्रमणबाट निको भएको, ५९० जनाको निधन भएको र २६ हजार ६८४ जना सक्रिय संक्रमण रहेका छन् ।
यस्तै अहिलेसम्म २३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत संकलनबाट एन्टिबडी परीक्षण गर्ने छन् ।
यस्तै संक्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमूना परीक्षण गरिने बताए । उनका अनुसार एक वडामा १५ जनाको दरले नमूना परीक्षण गरिने छ ।
यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । उनले दसैँ अगाडि सबै नमूना संकलन गरेर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा संक्रमण फैलिएको भन्नेबारेमा अध्ययन सुरु गरेको हो ।
अध्ययनका क्रममा जति प्रतिशतलाई संक्रमण देखियो त्यतिप्रतिशत नै नेपालमा खफैलिएको भन्ने अनुमान गर्न सकिने महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिए । ‘संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ’, महाशाखाका निर्देशक डा पाण्डेले भने, ‘तर अब अध्ययन गरेपछि मात्र समुदायमा संक्रमण छ वा छैन भन्ने पुष्टि गर्दछ ।’ (रासस)
प्रकाशित समय १५:०२ बजे

















