गृहपृष्ठ आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जना स‌ंक्रमित उपचाररत

आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जना स‌ंक्रमित उपचाररत

सांकेतिक तस्बिर ।

काेराेना संक्रमितको संख्या नेपालमा दिनहुँ बढ्दो छ । दैनिक एकदेखि डेढ दर्जन व्यक्तिले काेराेनाका कारण ज्यान गुमाइरहेका छन् । यद्यपि काेराेनामुक्त हुनेकाे संख्या पनि उल्लेख्य नै छ ।

संक्रमितकाे उपचारमा समस्या देखिन थालेकाे समाचारहरू सार्वजनिक भइरहँदा हाल देशभर आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जना स‌क्रमित उपचाररत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये प्रदेश १ मा ३४, प्रदेश २ मा १३, बागमतीमा १ सय ५२, गण्डकीमा २०, लुम्बिनीमा ५३, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ९/९ जना गरी २९० जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा नौ, प्रदेश २ मा एक, बागमतीमा ४८, गण्डकीमा चार, लुम्बिनीमा एक र सुदूरपश्चिममा तीनजना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार शनिबार १८ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ ।

थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ ।

मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके र रुपन्देही पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुस्ताङमा भने कोरोना संक्रमितको संख्या शून्य छ ।

प्रकाशित समय १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु