गृहपृष्ठ अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धेरै संक्रमित
अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धेरै संक्रमित
अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले संक्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।
केही अस्पतालहरुमा संक्रमिततहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ । अमेरिकामा शुक्रवार ८३ हजारभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको तथ्यांक छ । तर, मृत्युदर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।
विभिन्न निकायहरुले दिएको विवरणअनुसार अमेरिकामा कोरोनाभाइरसको महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस संक्रमित भएका छन् । यस अघि एकैदिनमा सवैभन्दा धेरै संक्रमित गत जुलाई १७ मा भएका थिए । त्यो दिन ७६ हजार ८४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ ।
त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत एक हप्तामा ४ लाख ४१ हजारभन्दा बढीमा संक्रमित भएका छन् । यो संख्या पनि जुलाई यताको सबैभन्दा धेरै भएको जनाइएको छ। तर मृत्यु भएकाहरुको संख्या भने गत अप्रिलको भन्दा कम नै रहेको छ । अप्रिलमा दैनिक दुई हजारको मृत्यु भएको थियो ।
पछिल्ला केही दिनदेखि संक्रमितहरुको संख्यामा बृद्धि भएसँगै अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । शुक्रबारको तथ्यांक अनुसार ४१ हजार ४८५ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कतिपय देशहरुमा पछिल्लो समयमा फेरी संक्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोनाभाइरसको संक्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । (एजेन्सी)
प्रकाशित समय १४:३१ बजे

















