गृहपृष्ठ झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै
झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै
स्वाब संकलन गरिँदै (फाइल तस्बिर) ।
कोभिड १९ को संक्रमणको जोखिम बढेसँगै झापामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् । मेची प्रादेशिक अस्पतालले सञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा सशुल्क कोरोना परीक्षण गराउने बढेका हुन् ।
अस्पतालमै रहेको पीसीआर प्रयोगशालाले एक महिना अघिदेखि नै सशुल्क परीक्षण गराउँदै आएको थियो भने कनकाईको प्रयोगशालाले गत कात्तिक ७ गतेदेखि सशुल्क परीक्षण सुरु गरेको हो ।
दुवै प्रयोगशालामा गरी हालसम्ममा एक हजार ४२५ बढीले सशुल्क सेवा लिएका छन् । अस्पतालमै रहेको प्रयोगशालामा एक हजार बढी र कनकाई पीसीआर प्रयोगशालामा ४२५ बढीले सेवा लिइसकेका छन् । ‘गरिब, असहाय, आइसोलेनमा रहेका, स्वास्थ्यकर्मी, प्रहरीलगायत फ्रन्ट लाइनमा काम गर्नेहरुको सरकारले निःशुल्क परीक्षण गरिरहेको छ,’ मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले भने, ‘निजी कामका लागि काठमाडौंलगायत अन्य ठाउँमा जाने, छिमेकीलाई कोरोना भएको कारण शंका लागेर आउनेले सशुल्क परीक्षण गर्छन् ।’
उनले मेचीमा दैनिक ३० देखि ४० जनाले सशुल्क सेवा लिँदै आएको बताए । हिजोआज अस्पतालमा रहेको प्रयोगशालामा भन्दा बढी कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिने बढी आउन थालेका छन् ।
कनकाई पीआर प्रयोगशालाका स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराईका अनुसार दैनिक ५० देखि ६० जनाले सशुल्क सेवा लिइरहेका छन् । ‘रिपोर्ट चाँडो चाहिएका र सिकिस्त बिरामी आउँछन्, उनले थपे, ‘निःशुल्क गर्दा रिपोर्ट ढिलो हुन्छ सशुल्क गर्दा चाँडै आउँछ । त्यही भएर सशुल्क गर्नेको संख्या बढ्न थालेको छ ।’ स्वाब परीक्षण गरेको १२ घण्टाभित्रमा सशुल्क गराउनेको रिपोर्ट दिइने गरेको उनले जानकारी दिए । किट, केमिकल र रिएजेन्टको समस्या हुँदा निःशुल्क परीक्षण गराउनेको रिपोर्ट ढिलो हुने गरेको उनले बताए ।
कनकाई कोभिड नियन्त्रण एवं व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मी अधिकारीले बिर्तामोड, शिवसतासी, अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाबाट यस प्रयोगशालामा परीक्षण गर्ने बढी आउने गरेको जानकारी दिए । उनका अनुसार कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिनेबाट हालसम्ममा आठ लाख ५० हजार रूपैयाँ संकलन भइसकेको छ । सो रकमबाट नै आवश्यक किट, केमिकललगायत सामग्री खरिद गर्ने गरिएको उनले बताए । (रासस)
प्रकाशित समय २०:१७ बजे
















