गृहपृष्ठ ‘कान्छो जिल्ला’का चार स्थानीय तहले सञ्चालन गरे आफ्नै लगानीमा अस्पताल

‘कान्छो जिल्ला’का चार स्थानीय तहले सञ्चालन गरे आफ्नै लगानीमा अस्पताल

कर्णाली प्रदेशको कान्छो जिल्ला रुकुमपश्चिमका चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन् । आठबीसकोट र चौरजहारी नगरपालिकासहित सानीभेरी र त्रिवेणी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

नेपालको संविधानमा नगरपालिकामा २५ र गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने उल्लेख छ । सोहीअनुसार रुकुमपश्चिमका स्थानीय तहहरुले अस्पताल स्थापना गरी सेवा प्रवाह गरिरहेका हुन् । आठबीसकोट नगरपालिकाले २०७५ असोज १२ देखि नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । ९ नम्बर वडाको राडीस्थित स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको हो । २५ शय्याको अस्पताल बनेपछि स्थानीयले ३ वर्षदेखि चिकित्सकीय सेवा पाइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए ।

हाल आठबीसकोट नगर अस्पतालमा दैनिक एक सय जनासम्म बिरामीको उपचार भइरहेको छ । दैनिक १० जना बिरामी इमर्जेन्सीमा भर्ना हुने गरेको अस्पताल प्रमुख मणिराज शाहले बताए । उनका अनुसार अस्पतालमा डिजिटल एक्स-रे सेवासमेत उपलब्ध छ । एक आईसीयू बेड र चारवटा डिजिटल मोनिटर सहितका शय्या छन् । फार्मेसी, ल्याब र प्रसूति सेवा पनि नियमित प्रवाह गरिरहेको उनले जानकारी दिए ।

सानीभेरी गाउँपालिकाले समेत २०७६ फागुन १ देखि अस्पताल सञ्चालनमा ल्याएको थियो । ७ नम्बर वडाको छोटेबगरमा चिकित्सकसहित १८ स्वास्थ्यकर्मीले २४ सै घण्टा उपचार गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले बताए । उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी आउँछन् । १५ शय्याको उक्त अस्पतालको संरचनाअनुसार अहिले १० बेड राखिएको छ । अस्पतालमा बिरामी भर्ना पनि नियमित हुन्छन् ।

चौरजहारी नगरपालिकाले पनि सहिद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याएको छ । १० नम्बर वडाको सहिद स्मृति मैदानमा एक साताअघि ५ शय्याको अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा चिकित्सकसहित २२ स्वास्थ्यकर्मीले उपचार थालेका छन् । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवाको साथै प्रयोगशाला, डिजिटल एक्सरे, फार्मेसी, इसीजीलगायत उपचार सुरु गरेको नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार अस्पताल सञ्चालन कार्यविधिअनुसार ५ वडाका बिरामीका लागि चिकित्सकीय सेवा प्रवाह भइरहेको छ । १०, ११, १२, १३ र १४ नम्बर वडा र सल्यानको दार्मा गाउँपालिकाका केही भेगका सर्वसाधारणले अस्पतालबाट सेवा लिन थालेको उनले जानकारी दिए ।

त्रिवेणी गाउँपालिकाले ग्राम अस्पताल सञ्चालनमा ल्याएको छ । ३ नम्बर वडाको खारानेटामा अस्पताल सञ्चालन भइरहेको हो । नयाँ भवन बनेपछि चिकित्सकीय सेवासहितको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु