गृहपृष्ठ कोभिड-१९ विरुद्धको खोप नाफा कमाउने माध्यम नबनोस्ः प्रम ओली
कोभिड-१९ विरुद्धको खोप नाफा कमाउने माध्यम नबनोस्ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन ।
कोभिड–१९ महामारीसम्बन्धी ३१औँ विशेष संयुक्त राष्ट्रसंघीय महाअधिवेशनलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै उनले खोपहरू विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्नेमा जोड दिए ।
प्रम ओलीले कोभिड–१९विरुद्धको खोपसम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित भए पनि सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताका रुपमा देखापरेको तथा धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा ‘कोभाक्स’ले गरेको प्रयासको सराहना गर्दै भने, ‘खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन ।’
तेह्र लाखभन्दा बढीले ज्यान गुमाइसकेका तथा प्रायः सबै समाज, अर्थतन्त्र र मुलुक गम्भीररुपमा प्रभावित भइरहेका सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको बताउँदै उनले विद्यमान महामारी एक स्वास्थ्य संकट मात्र नभएर राष्ट्रबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिँदै गएको असमानता एवं मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यताविरुद्ध जागरुक हुन बजेको घण्टी भएको धारणा राखे ।
उनले स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण, जनताको जीवनको रक्षा एवं दिगो तथा उत्थानशील पुनःस्थापनाका उद्देश्यबाट नेपाल मार्गनिर्देशित भएको, आवश्यक परेकालाई निःशुल्क परीक्षण एवं उपचार सेवा प्रदान गरिएको तथा संघीय, प्रान्तीय एवं स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत र चिकित्सकीय उपकरण सुनिश्चित गरिएको जानकारी दिए ।
‘अन्य मुलुकझैँ नेपाल पनि यसस्तरको संकटका लागि तयार थिएन तर भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनीतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतको परिचालन गरेका छौँ’, अकल्पनीय स्वास्थ्य संकटविरुद्ध नेपालको लडाइँबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने ।
संकटको वर्तमान घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्रसंघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्दै उनले चुनौतीको सामना गरिरहँदा त्यसबाट पार पाउन सुदृढ विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको औँल्याए ।
बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्ने, गरिबी, भोकमरी तथा बढ्दो असमानतालगायत जलवायु सङ्कट एवं विश्वव्यापी महामारीजस्ता समसामयिक विश्वका गम्भीर चुनौती सामना गर्नसक्ने पुनःसबलीकृत बहुपक्षीयताको आवश्यकतामा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनोट गर्नुपर्छ, एकल कार्य होइन, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाका रुपमा प्रयोग गरिनु हुँदैन । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत् सहयोगको खाँचो छ ।’
दुई दिवसीय उक्त विशेष महाधिवेशनलाई ३७ देशका राष्ट्राध्यक्ष, ३९ राष्ट्रका सरकार प्रमुखसहित १५५ राष्ट्रका राजनीतिक नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । (रासस)
प्रकाशित समय १६:४२ बजे

















