गृहपृष्ठ क्लाउड कम्प्युटिङमा लर्डबुद्ध एकेडेमी र जेनेज क्लाउड एकेडेमीबीच सहकार्य
क्लाउड कम्प्युटिङमा लर्डबुद्ध एकेडेमी र जेनेज क्लाउड एकेडेमीबीच सहकार्य
क्लाउड कम्प्युटिङमा दक्ष जनशक्ति उत्पादन गर्न भन्दै लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले बेलायतको जेनेज क्लाउड एकेडेमीसँग सहकार्य अघि बढाएको छ । सहकार्यअन्तर्गत विद्यार्थीले बीएस्सी आईटी (आनर्स) का साथै क्लाउड कम्प्युटिङ सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् ।
सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले एसिया प्यासिफिक युनिभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बीएस्सी आईटी र बीबीएम विषयमा अध्यापन गराउँदै आएको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले यस सहकार्यले उद्योग र औपचारिक शिक्षाबीचको दूरीलाई कम गर्ने विश्वास लिएको बताए ।
कार्यक्रममा लर्डबुद्धले बीएस्सी आईटी (आनर्स) कार्यक्रममा एक जना छात्रासहित तीन जना विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति उपलब्ध हुने जानकारी गराएको छ । त्यसको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाइमा गठित छात्रवृत्ति छनौट समितिले गर्नेछ ।
कार्यक्रममा जेनेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जनी फुयालले सूचना प्रविधि उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्यको महत्वमा जोड दिइन् । लर्डबुद्ध र जेनेज क्लाउडबीचको साझेदारीले शैक्षिक क्षेत्र तथा सूचना प्रविधि उद्योगबीचको दूरी कम गर्न कोशेढुंगा सावित हुने उनको विश्वास छ ।
कार्यक्रममा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का निवर्तमान अध्यक्ष र विश्व सूचना प्रविधि र सेवा गठबन्धन कार्यकारी सदस्य हेमन्त चौरसियाको पनि उपस्थिति थियो ।
प्रकाशित समय १९:५७ बजे

















