गृहपृष्ठ पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क

पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क

सरकारले कोरोना परीक्षणमा दुई हजार रूपैयाँ मात्र लिन गरेको निर्देशन विपरित कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप एक हजार रूपैयाँ लिएको पाइएको छ ।

कलेजका निर्देशक डा. मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गरे । उनका अनुसार यहाँ संकलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौँको स्टार हस्पिटलमा पठाइँदै आइएको छ । सो अस्पतालले परीक्षण शुल्क दुई हजार ४०० रूपैयाँ लिने हुँदा आफूहरुले यातायात शुल्कसहित तीन हजार रूपैयाँ लिएको स्वीकार गरे ।

हाल भने अस्पतालले ४०० रूपैयाँ थप गरेर परीक्षण गराउँदै आएको उनको दाबी छ । यद्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पीसीआर परीक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौँ स्वाब पठाउने गरेको बताए । जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा ५०० रूपैयाँ बढी लिएको भन्दै मुद्दा चलाएको छ ।

कलेजका प्रतिनिधिले १८ लाख रूपैयाँ र क्यान्सर अस्पतालका प्रमुखले आठ लाख रूपैयाँ धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए । (रासस)

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु