गृहपृष्ठ भारतले उपलब्ध गराएको कोरोनाविरूद्धको खोप भोलि काठमाडौं आइपुग्ने
भारतले उपलब्ध गराएको कोरोनाविरूद्धको खोप भोलि काठमाडौं आइपुग्ने
भारतले नेपाल सरकारलाई उपलब्ध गराएको कोरोनाविरूद्धको खोप बिहीबारदेखि काठमाडौं आउन थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतले खोप उपलब्ध गराएको घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप उपलब्ध गराएकामा भारतलाई धन्यवाद दिएका छन् । नेपाललाई कोरोना महामारीका बेलामा पनि निरन्तर औषधिलगायत सामग्री प्रदान गरेको सहयोग गरेकामा उनले भारतको सराहना पनि गरे । मन्त्री त्रिपाठीले नेपालका लागि भण्डारण र ढुवानीका लागि यो खोप उपयुक्त रहेको बताए ।
पहिलो चरणमा ३ प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोप दिइने र यसका लागि कानुनी, प्रशासनिक, आर्थिक सबै तयारी भइसकेको मन्त्री त्रिपाठीले जानकारी दिए । उनका अनुसार नेपालका ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने सरकारको तयारी छ ।
औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । कोभिसिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेका हुन् । भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा दिन लागेको हो ।
प्रकाशित समय १४:५७ बजे

















