गृहपृष्ठ उपकुलपतिमाथिको अपमानले सरकारको चरित्र उदांगियो : प्राध्यापक संघ
उपकुलपतिमाथिको अपमानले सरकारको चरित्र उदांगियो : प्राध्यापक संघ

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई सरकारले अपमानजनक ढंगले नियन्त्रणमा लिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । प्राध्यापक संघले बुधबार विज्ञप्ति निकाल्दै क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई सम्मेलनमा सहभागी हुनबाट बञ्चित गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
प्राध्यापक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस घटनामा राज्यले गरेको प्रहारले उपकुलपति, विश्वविद्यालय, धर्म–संस्कृति तथा सिंगो प्राज्ञिक क्षेत्रमाथि आघात पुगेको छ, यसबाट सम्पूर्ण प्राध्यापक जगत सशंकित बनेको छ ।’ मानवीय समवेदनाशून्य व्यवहारले सरकारको चरित्र उदांगो पारेको भन्दै प्राध्यापक संघले सरकारले लोकतान्त्रिक मूल्य–मान्यतालाई उपहास गरेको बताएको छ ।
प्राध्यापक संघले सन् २०२४ मा नेपालमा हुने निश्चित भएको सम्मेलन रोक्न सरकार लागि परेकोसमेत आरोप लगाएको छ । ‘यस घटनाबाट आगामी सन् २०२४ मा नेपालमा हुने निश्चित भएको विश्व संस्कृत सम्मेलन हुन नदिई नेपालको मौलिक संस्कृति एवं सम्पदालाई समाप्त पार्ने प्रपञ्च भएको बुझिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्राध्यापक संघले यस्ता क्रियाकलाप नदोहो¥याउन सचेत गर्दै उपकुलपतिलाई सम्मेलनमा भाग लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
प्रकाशित समय १६:५१ बजे