गृहपृष्ठ सुशासनको नयाँ इतिहास रचना गर्छु : प्रधानमन्त्री
सुशासनको नयाँ इतिहास रचना गर्छु : प्रधानमन्त्री
'भ्रष्टाचार र अनियमितता शब्द सुन्न पनि सक्दिन'

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को ध्येय पूरा हुने बताएका छन् । ‘सामाजिक एकता र सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउनेछु,’ प्रधानमन्त्रीले भने, ‘म दाग र धब्बारहित रुपमा काम गर्छु, भ्रष्टाचार र अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित पुरस्कार बुधबार विभिन्न स्रष्टालाई प्रदान गर्दै प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताए । ‘कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन,’ उनले भने ।
सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तर माथि उक्लिने प्रधानमन्त्रीको भनाइ छ । ‘लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ,’ प्रधानमन्त्री ओलीले भने ।
जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ? भन्दै प्रधानमन्त्रीले प्रश्न गरे । आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन सुरु गरेको उल्लेख गर्दै उनले स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे ।
युवालाई प्रोत्साहन र पाकालाई सम्मान
सरकारले युवालाई प्रोत्साहन र पाकालाई सम्मान गर्ने प्रधानमन्त्रीको भनाइ छ । उनले २०५१ सालमा आफू मन्त्री हुँदा सुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी गराए । प्रधानमन्त्री ओलीले कला, साहित्य र भाषाले देशको समृद्धिमा योगदान पुग्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशको ऐना भएको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने ध्येय मन्त्रालयको रहेको बताए । ‘प्रतिपक्षलाई पेलेर होइन, साथ र सहयोग लिएर सरकारले काम गर्छ,’ उनले भने ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले पुरस्कारका लागि स्रष्टा चयन गर्दा मापदण्ड बनेको जानकारी दिए । भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष छविलाल विश्वकर्माले ओझेलमा परेका स्रष्टालाई बाहिर ल्याई सम्मान गर्ने परम्पराले स्रष्टामा आत्मविश्वास बढेको बताए । सम्मानित व्यक्तित्व विनय कसजूले स्रष्टा सम्मानले कला र साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कुन पुरस्कार कसलार्इ ?
कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई प्रदान गरेका छन् । कार्यक्रममा २०७४ सालको राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो ।
यसरी पुरस्कृत हुनेमा संस्कृति विधामा प्रा. डा. रञ्जना बज्राचार्य (काठमाडौं), संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल (काठमाडौं), ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडौं) र भाषा तथा साहित्य विधामा प्रा. डा. केशवप्रसाद उपाध्याय छन् । यो पुरस्कारको राशि एक लाख रूपैयाँ र सम्मानपत्र छ ।

२०७४ सालको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट कविता विधामा कञ्चन पुडासैनी (काठमाडौं), निबन्ध विधामा तेजराज खतिवडा (झापा), बाल साहित्यमा विनय कसजू (पाल्पा), भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी (तेह्रथुम) लार्इ सम्मान गरिएको छ । पुरस्कारको राशि एक लाख रूपैयाँ छ ।
यसैगरी, मन्त्रालयले यो वर्षदेखि सुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य (सुनसरी) र प्रा. डा. मोहनहिमांशु थापा (काठमाडौं) लाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि पनि एक लाख रूपैयाँ छ ।
यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा (इलाम), समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा (काठमाडौं) र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन (काठमाडौं) लाई अर्पण गरिएको थियो । यसको राशि पनि एक लाख रूपैयाँ छ ।
कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ । यो पुरस्कार पाउनेमा संस्कृति विधातर्फ प्रदेश १ बाट प्रा.डा. गोविन्दमानसिंह कार्की (भोजपुर), प्रदेश २ बाट डा. पशुपतिनाथ झा (महोत्तरी), प्रदेश ३ बाट उद्धवप्रसाद भट्टराई (काभ्रे), गण्डकीबाट डा. दीनबहादुर थापा (बागलुङ), प्रदेश ५ बाट प्रतिभा पुन (रुपन्देही), कर्णालीबाट रमानन्द आचार्य (जुम्ला) र प्रदेश ७ बाट मणिराज जोशी (कैलाली) छन् ।
यसैगरी, संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली (झापा), प्रदेश २ बाट प्रियंका झा (धनुषा), प्रदेश ३ बाट सुनिता दुलाल (भक्तपुर), गण्डकीबाट इतु जोजिजू (कास्की), प्रदेश ५ बाट सरस्वती चौधरी, कर्णालीबाट खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड पुरस्कृत भएका छन् ।
त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगा दर्शनधारी (काठमाडौं), गण्डकीबाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी), कर्णालीबाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) सम्मानित भएका छन् ।
यसैगरी, भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा. डा. भोलानाथ पोखरेल (सुनसरी), प्रदेश २ बाट विनिता ठाकुर (धनुषा), प्रदेश ३ बाट नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), गण्डकीबाट महेश्वर शर्मा (स्याङ्जा), प्रदेश ५ डा दुवीन्द्र ढकाल (गुल्मी), कर्णालीबाट बलभद्र भारती (सुर्खेत) र प्रदेश ७ बाट चन्द्रदेव जोशी (दार्चुला) पुरस्कृत भए । यो पुरस्कारको राशि ५० हजार रूपैयाँ छ ।
(रासस)
प्रकाशित समय १७:२८ बजे