गृहपृष्ठ दुर्घटनाका घाइतेको उपचारमा ग्रान्डी अस्पतालको ‘लापर्बाही’
दुर्घटनाका घाइतेको उपचारमा ग्रान्डी अस्पतालको ‘लापर्बाही’
साढे ९ लाखमा घटना सामसुम, मेडिकल डाइरेक्टर कुटिए
उपचारमा लापर्बाही गरेका कारण दुर्घटनाका घाइतेको मृत्यु भएपछि काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले साढे ९ लाख रुपैयाँमा घटना सामसुम पारेको छ । ‘ओभरडोज’ औषधिका कारण घाइतेको मृत्यु भएको घटना सार्वजनिक नगर्न भन्दै अस्पतालले पीडित परिवारलाई ९ लाख ५० हजार रुपैयाँ दिएको हो । दुर्घटनाबाट घाइते भई अस्पताल पुर्याइएका धादिङका रमेश दुनैको उपचारमा लापर्बाहीका कारण मृत्यु भएपछि अस्पतालले सम्पूर्ण उपचार खर्च फिर्ता गरेको हो ।
यस्तो थियो घटना
असोज ११ गते शुक्रबार काठमाडौंको रानीवनमा कार दुर्घटना भयो । दुर्घटनामा घाइते भएका ३९ वर्षीय दुनैलाई उपचारका लागि तत्काल धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो । उनको बायाँ खुट्टाको तिघ्राको जोर्नी फुस्किएको भन्दै अस्पतालले शल्यक्रिया ग¥यो । अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेको टोलीले गरेको शल्यक्रिया सफल भएको र स्वास्थ्यमा क्रमिक सुधार आएको भन्दै भोलिपल्ट १२ गते शनिबार घाइतेका आफन्तलाई जानकारी गराइयो । आफन्तले यहाँ नसके भारत लगेर उपचार गर्ने प्रस्ताव गरे । तर, ग्रान्डी अस्पतालले पठाउन नमिल्ने बतायो । घाइतेको अवस्था सामान्य रहेको भन्दै अस्पतालले आफन्तलाई रिझायो ।
शनिबारै होस आएर कुराकानी गर्न सक्ने घाइते दुनैको स्वास्थ्य सामान्य बन्दै थियो । त्यसको भोलिपल्ट १३ गते आइतबार र १४ गते सोमबार बिरामीको फिजियोथेरापी गरियो । त्यतिबेलासम्म दुनैले सामान्य खाना खान थालिसकेका थिए । यस्तै दिसापिसाब र रगत परीक्षण गर्दा रिपोर्ट सामान्य आएको थियो । दिनमा तीनपटक बिरामीको अवस्थाबारे डाक्टरहरुले आफन्तलाई जानकारी दिने र बिरामीलाई टाढैबाट हेर्न सकिने गरिएको थियो । घाइतेको स्वास्थ्य क्रमशः सुधार हुँदै गएको देखेपछि आफन्त पनि खुसी थिए ।
१९ गते शुक्रबार अचानक राति ११ बजे ग्रान्डी अस्पतालले आफन्तलाई दुनैको मृत्यु भएको जानकारी गरायो । त्यसको केही घण्टाअघि आफन्तले भेट्ने क्रममा उनको स्वास्थ्य सामान्य थियो । तर, अचानक मृत्युको कारण भने मृगौला र मुटुमा समस्या भएको अस्पतालले बतायो ।
घुँडाको शल्यक्रिया गर्दासम्म दुनैको मुटु र मृगौला सबै सामान्य अवस्थामा रहेको रिपोर्ट आएको थियो । शल्यक्रियाअघि र शल्यक्रियाको एक सातापछि सम्म पनि सामान्य रहेका व्यक्तिको अचानक मुटु र मृगौलामा समस्या भई मृत्यु भएको अस्पतालले बताएपछि आफन्त आश्चर्यमा परे । उनीहरुलाई अस्पतालले लापर्बाही गरेको आशंका भयो ।
अस्पतालले दुर्घटनामा आन्तरिक रक्तश्रावका कारण मुटु, फोक्सो र मृगौलामा असर परेको जनाए पनि पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट त्यस्तो आएन । रिपोर्टमा ‘औषधिको ओभर डोजका कारण मृगौला ड्यामेज भएको र निमोनियाका कारण निधन भएको उल्लेख’ रहेको मृतकका आफन्तले जनाएका छन् ।
अस्पतालमा प्रहरी जम्मा गरेर मत्यु घोषणा
गएको शुक्रबार रात छिप्पिँदै गएपछि क्रमशः सेवाग्राही घट्दै गएका थिए । अस्पतालमा चहलपहल कम भएको थियो । अचानक प्रहरीको दुईवटा ट्रकमा ३ सयभन्दा बढी प्रहरी अस्पताल प्रांगणमा घेरा हाले । त्यसपछि घाइते दुनैका आफन्तलाई अस्पताल प्रशासनले उनको मृत्यु भएको जानकारी गराए । तब मात्र बुझियो कि आफ्नो लापर्बाही बाहिर आउने र आफन्तले विरोध गर्ने डरले अस्पताल प्रशासनले प्रहरी बोलाएको रहेछ । मृतक दुनैका आफन्त चिरञ्जीवी दुनैले भने, ‘आफ्नो लापर्बाहीले घाइतेको मृत्यु भएपछि विरोध र प्रतिवाद हुनसक्ने ठानेर अस्पताल प्रशासनले प्रहरी बोलाएको रहेछ,’ उनले न्युज कारोबारसँग भने ।
ग्रान्डीले स्वीकार गर्यो लापर्बाही
साँझ ७ बजेसम्म स्वास्थ्य सुधारोन्मुख रहेको घाइतेको मृत्यु भएको घोषणा गरिएपछि आफन्त आक्रोशित बने । अस्पतालको चरम लापर्बाही गरेको भन्दै मृतकका आफन्तले अस्पतालपरिसरमा आन्दोलन सुरु गरे । अस्पतालमा बोलाइएका प्रहरीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हुलदंगा गर्न नपाइने बतायो । तैपनि, आफन्तहरुले होहल्ला गर्दै शव नबुझ्ने अडान राखे ।
ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डले आफ्नो गल्ती नभएको दाबी गर्दै ‘जहाँसुकै गएर उजुरबाजुर गरे हुन्छ’ भन्दै धम्की दिएको मृतकका आफन्त बताउँछन् । मृतकका आफन्त र अस्पताल प्रशासनबीच रातभर वार्ता र विवाद चलिरह्यो । त्यसपछि भोलिपल्ट २० गते शनिबार बिहान घाइतेका आफन्तले मेडिकल काउन्सिलमा उजुर गर्नेदेखि मिडिया बोलाउनेसम्मको तयारी गरे ।
त्यसपछि आफ्नो लापर्बाही सार्वजनिक हुने डरले अस्पतालका मेडिकल डाइरेक्टर डा. पाण्डेले घटना बाहिर नल्याउन भन्दै उपचारमा लागेको खर्च फिर्ता गर्ने बताए । उपचारमा लागेको ९ लाख ५० हजार रुपैयाँ फिर्तासँगै मृतकका सन्तानलाई रोजगारी दिने सम्झौता अस्पतालले गरेपछि मृतकका आफन्तले शव बुझे । ‘अस्पतालमा धेरै चाप हुँदा आफ्नो लापर्बाही बाहिर फैलने डरले राति घटना सार्वजनिक गरियो भने बिहान घाइतेको चाप बढ्न थाल्दासमेत कुरा नमिलेपछि अस्पतालले घटना मत्थर पार्ने बाटो अपनायो,’ घाइतेका आफन्त चिरञ्जीवी दुनैले भने ।
‘मानवताको नाताले उपचार खर्च फिर्ता गरेँ’
अस्पतालका मेडिकल डाइरेक्टर डा. पाण्डेले भने उपचारमा आफूहरुले कत्ति पनि लापर्बाही नगरेको दाबी गरे । ‘जसरी हामी लामो समय प्लेनमा बस्दा खुट्टामा रगत जम्छ, त्यो दुर्घटनाबाट पनि घाइतेको आन्तरिक रक्तश्रावका कारण मुटु, फोक्सो र मृगौलामा रगत जमेर मृत्यु भएको हामीले अनुमान गरेका छौं, उपचारमा कुनै लापर्बाही गरेका छैनौं,’ पाण्डेले भने ।
उपचारकै क्रममा बिरामीको मृत्यु भएकाले मानवताका नाताले खर्च फिर्ता गरेको उनको भनाइ छ । अस्पतालमा जँड्याहाको समूहले हुलहुज्जत गरेपछि प्रहरी बोलाएर घटना नियन्त्रणमा लिएको पाण्डेले बताए । ‘मृतकका आफन्त भन्दै अराजक जँड्याहाको भीडले अस्पतालमा होहल्ला गरे, छलफल गर्न लाग्दा, मेरो टेबल फुटाएर मलाई पनि कुटे तर म सहेरै बसेँ,’ पाण्डेले न्युज कारोबारसँग भने, ‘हामीले गल्ती स्वीकारेर होइन, मानवताका हिसाबले उपचार खर्च फिर्ता गरेका हौं ।’ मृतकका पत्नीलाई रोजगारी दिने र छोराछोरीलाई पढाइदिने प्रस्ताव पनि उनीहरुले गरेको डाइरेक्टर पाण्डेले बताए । तर, उपचार खर्च फिर्ता र रोजगारी दिनेमात्र सहमति भएको उनले प्रस्ट पारे ।
प्रकाशित समय १८:४२ बजे

















