गृहपृष्ठ धारापानी स्वास्थ्य इकाई : दुई कार्यलय, कर्मचारी पिपलबोट मुनी

धारापानी स्वास्थ्य इकाई : दुई कार्यलय, कर्मचारी पिपलबोट मुनी

रामेछाप नगरपालिका–४ को धारापानी स्वास्थ्य इकाईका दुई वटा भवन छन् । तर कर्मचारीहरु पिपलबोट मुनी बसेर सेवा दिइरहेका छन् । स्वास्थ्य इकाईको पुरानो र नयाँ गरी दुई वटा कार्यलय हुँदा पनि कर्मचारी कार्यलय नखोली पपिलको रुखमुनी बसेर दिन काट्न बाध्य छन् ।

निर्माण समिती र व्यवस्थापन समितीको दबाबका कारण पिपलको रुखमुनी बस्न बाध्य भएको कर्मचारीहरु बताउँछन् । भवन उद्घाटन भएको छ तर कर्मचारीहरुल उक्त भवनमा बसेर सेवा दिन सकिरहेका छैनन् । कार्तिक १९ गते वडा अध्यक्ष टुपिन्द्र बहादुर तामाङको प्रमुख आतिथ्यतामा नयाँ भवनमा उद्घाटन भएको थियो । तर, सञ्चालन भने हुन सकेको छैन ।

स्वास्थ्य इकाईका अध्यक्ष रत्न बहादुर नेवारलाई जानकारी नदिई वडा अध्यक्ष टुपेन्द्र बहादुर तामाङले भवन उद्घाटन गरेका थिए । विवादबीच अध्यक्षले उद्घाटन गरेको भवन अवैधानिक रहेको भन्दै स्वास्थ्य इकाईका अध्यक्ष रत्न बहादुर नेवार उपस्थित भएका थिएनन् ।

इकाइ अध्यक्ष नेवारले वडा अध्यक्ष तामाङले प्रतिशोधको रुपमा आफुलाई कुनै जानकारी नै नदिई भवन उद्घाटन गरेपछि कानुनी बाटोमा जाने बताएका छन् । इकाइ अध्यक्षलाई कुनै जानकारी नदिइ भवन निर्माण समितीले पुरानो कार्यलयका सबै सामान नयाँ भवनमा सारेर भवनको उद्घाटन गरेका थिए ।

इकाई अध्यक्ष नेवारले कानुनी रुपमा कार्यलय पुरानो भवनमा संचालन गर्न कर्मचारीलाई आदेश दिएको कर्यलयमा कार्यरत अनमी मन्जु श्रेष्ठले न्युज कारोबारलाई बताइन् । ‘स्वास्थ्य इकाइको अध्यक्षले पुनारो कार्यलयमा बसेर काम गर्न भन्नुभएको छ, वडा अध्यक्षले दुवैमा नबस भन्नु हुन्छ’, उनले भनिन्, ‘हामी जनताको सेवामा खटिएका हौं, जनताको सेवाको लागि सर्वजनिक ठाँउमा बसेर सेवा दिएका छौं ।’

 

कर्मचारीलाई आ–आफ्नै दबाब
धारापानी सामुदायिक स्वास्थ्य इकाईमा अहिले तीन जना कर्मचारी कार्यरत छन् । नयाँ भवनको उद्घाटन हुनुभन्दा पहिले सजिलै र सरल ढगंले सेवा दिइरहेको स्वास्थ्य इकाईमा नयाँ भवन उद्घानटन गरेपछि कर्मचारीलाई हाजिर गर्न र सेवा लिन आएका सेवाग्राहीलाई सेवा दिन अप्ठेरो परेको छ ।

स्वास्थ्य इकाईमा कार्यरत कर्मचारीहरु व्यवस्थापन समिति र निर्माण समितिको दबाबका कारण कार्यलय नखोली पिपलको रुखमुनी बसेर दिन कटाउन बाध्य भएको बताउँछन् ।

‘व्यवस्थापन समितीले पुरानो कार्यलय खोलेर काम गर भन्छ, तर सबै सामानहरु नयाँ भवनमा छ’, अनमी मन्जु श्रेष्ठले भनिन्, ‘नयाँ भवनको सामान चलाए निर्माण समितिले मुद्दा हाल्छौं भन्छ ।’

निर्माण समिती र व्यवस्थापन समितीको लढाँइका कारण इकाईले प्रवाह गर्ने सेवा प्रभावित बनेको छ । केही व्यक्तिको राजनीतिक प्रतिशोधका कारण सेवाग्राही र कर्मचारीले अनावश्यक दुःख भोग्नु परेको स्थानीय खम्बबहादुर श्रेष्ठले बताए । ‘आफूलाई अधिकार नै नभएको विषयमा केही व्यक्तिले हस्तक्षेप गरी स्वास्थ्य इकाईको मूल समितिलाई लात हाने, अहिले सेवा ग्राही र कर्मचारीले सास्ती भोग्न परेको छ,’ उनले भने ।

 

अनावश्यक विवाद
रामेछाप नगरपालिकाको नगर स्वास्थ्य संयोजक रामशरण पौडेलले धारापानी सामुदायिक स्वास्थ्य इकाईमा अनावश्यक विवाद गरेको बताएका । ‘सबै काम राम्रोसँग भएको छ, भवन निर्माण पनि राम्रैसँग गरेका छन्’, उनले भने, ‘पछि विवाद भएको छ, यो अनावश्यक विवाद हो ।’ आफूले के गर्ने भन्ने विषयमा नगरपालिकामा छलफल गरिरहेको न्युज कारोबारलाई बताए ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु