गृहपृष्ठ ड्रेस टू इम्प्रेसमा यस्तो देखियो डिजाइनरहरुको सृजना
ड्रेस टू इम्प्रेसमा यस्तो देखियो डिजाइनरहरुको सृजना
बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा मंगलबार साँझ युवायुवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए । आफ्ना लागि आफैंले तयार पारेको पहिरन र सोही पहिरनलाई मोडल जस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गर्न आतुर उनीहरुमा वेग्लै खालको उत्साह देख्न सकिन्थ्यो । आईआईएफटी नेपाल नामक फेसन डिजाइनिङ इन्स्टिच्युटमा अध्ययनरत फेसन डिजाइनिङका विद्यार्थी उनीहरुले ड्रेस टू इम्प्रेस शीर्षकअन्तर्गतको प्रतियोगिताका लागि त्यसरी आफूलाई तयार पारेका थिए ।
कार्यक्रमले गति लिएसंगै फिटेड गाउन, लेहेंगा, ककटेल, कल्चुरल तथा फ्लो गाउनअन्तर्गत विद्यार्थी डिजाइनरहरुले आफूले सृजना गरेका पहिरनहरु आफैंले प्रस्तुत गरे । उनीहरुको प्रस्तुतिलाई कोरियोग्राफर विपना थापाले निर्देशन गरेकी थिइन् । उनीहरुको सृजनाको मूल्यांकनमा थिए, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, हेयरस्टाइलिष्ट नील डेविड कटुवाल, डिजाइनरद्वय विश्व गौतम र राजु सुवाल तथा गायिका एवं नायिका विष्णु चेम्जोङ ।
करिब दुई घण्टा प्रस्तुतिको अन्तमा ड्रेस टू इम्प्रेसको विजेता घोषणा गरियो । जसमा कालो रंगको फ्लो गाउन बनाएकी सोनी श्रेष्ठ विजेताको हकदार बनिन् भने मयुरबाट प्रभावित कक्टेल पहिरन बनाएकी स्वेता शाक्य फस्ट रनर अप तथा टाईडाई गरी तयार पारिएको लेहेंगा बनाएकी शारह बानियाँले सेकेन्ड रनर अपको अवार्ड थाप्न सफल भए । उनीहरुले क्रमशः नगद पुरस्कार पन्ध्र हजार, दश हजार तथा आठ हजार रुपैयाँ प्राप्त गरेका थिए । कार्यक्रममा गायकद्वय लाक्पा शेर्पा र प्रवेशमान शाक्य तथा गायिका विष्णु चेम्जोङले आफ्ना गीतहरु सुनाएका थिए ।


प्रकाशित समय १९:०४ बजे

















