गृहपृष्ठ वैशाखको गीत

वैशाखको गीत

विश्व मैलिएको छ

वैशाखे पालुवाले हम्केर बढारौँ

संक्रमणका थुप्रोहरू

उठाएर बिस्केटको लिङ्गो

हटाऔँ बादलका काला टाटाहरू

हामीले नै गाउनु छ मालश्री धुन

गाऔँ एकै स्वरले विश्व शान्तिका लागि

वैशाखको वासन्ती गीत

उग्राउँदै काफलका दानाले

मारौँ  पेटका किराहरू

वैदिक मन्त्रोच्चारणको ध्वनिले

गरौँ बहुजन हितायको कामना ।

 

गाएर वैशाखको वैशालु गीत

साँट्नु छ नयाँ वर्षको शुभेच्छा

सुनाउँदै वसन्त श्रवणको आलाप

फुलाउनु छ ओठमा सुनाखरी

सजाएर आँखामा सहलेसको फूल

पिएर अक्षय तृतीयाको सर्वत

भगाउनु छ कोभिडको खसखस ।

 

हाम्रा दर्शनमै छन्

जीवन जिउने कलाहरू

वैशाखमै छ

विक्रमी र शाक्य सम्वतको महत्त्व

नव युगको रचनाका लागि

सजाउनु छ नयाँ वर्षको

सतत् आशीर्वाद

सत्य सधैं जिउँदो छ

सधैं सधैंका लागि ताप्नु छ

वैशाखको न्यानो घाम ।

– ऋषभदेव घिमिरे

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु