गृहपृष्ठ भन्नुस् प्रिय ‘बा’ प्रधानमन्त्री ज्यू !

भन्नुस् प्रिय ‘बा’ प्रधानमन्त्री ज्यू !

सब ठीक ठाकै थिएन
उकुसमुकुस नै थियो
आदरणीय ‘बा’ आर्थात्,
सम्माननीय प्रधानमन्त्री ज्यू !
जब तपाईंको कविता विवादास्पद भएता पनि
सुन्न-पढ्न पाए, बडा खुसी लाग्यो, बुर्कुसी मारे मान्छेहरुले

अब त सबका दिन आए भनेर,
एउटा मिसन ‘राज’ नेताको
कविताले भन्यो;
अब कसैले आँसु खसाउनु पर्दैन
कसैले भोकै बस्नु पर्दैन ।
अब फोटो सजाउने सपनाहरू तुहिन्छन्
फोटोकोहरको खेती कुहिन्छ,
कसैले अन्याय सहनु पर्दैन ।
पीडा र अभावले जिन्दगी मर्नु पर्दैन
तर, ‘बा’
तपाईंको कविता जनजनले गुनगुनाउन नपाउँदै,
संगीतकारहरुले धुन भर्न नपाउदै,
यि कविता र गजल कालजयी हुन नपाउँदै
तमामका जीवनहरुमा धमाधम काल पस्यो

प्रिय बा !
बा’को कविता भन्छ, आँसु खसाउनु पर्दैन
तर, आँसुमात्र होइन, अकालमै जीवनहरु खसे
कीर्तिपुरमा ६० वर्षीय बृद्ध भरिया
नरबहादुर तामाङ भोकले, चौरजहारी रुकुममा
आधा दर्जन नवराजहरु नरसंहारमा परे
बर्जित जातीय प्रेमले ।
कोरोनाको कहरका योद्धा
सहकर्मी चिकित्साका साथीहरु, भोक प्यास रातदिन
नभनी बिमारीको उपचार गरेबाफत कुटेर लास बनाए
व्यधाहरुले,
जेल नजानुपर्ने पक्का भएको छ अब
सुन्दरमणी दिक्षितजस्ता कोट काट्ने मुसाहरु,
किनकी कोरोना कुमारीहरु सलह जस्तै हलक्क
बढिसकेकी छन्, नेपालमा तपाईंले छेडेको जेहादका बाबजुद,
आत्महत्याहरु मासिक साढे तीन सयबाट
झन्डै छ सय पुगेका छन् ।

प्रिय बा !
यस्तै यस्तै तमाम अनिष्ट भैरहेका छन् त ‘बा’
बा’को कविता सुनेर खुसीले बुर्कुसी मारेपछि
मेरो शरीरको तापमान पनि एक नास छैन
ओम्नीको इन्फ्रारेड थर्मोमिटरले तापमान नाप्छु
कहिले स्वास्थ्य मन्त्रालयको गेटमा, ८० डिग्री फेेरेनहाइट
सिभिएर हाइपोथर्मिया देखाउँछ ।

सिंहदरबारको गेटमा नाप्छु १०७ डिग्री फेेरेनहाइट
सिभिएर हाइपर्थमिया देखाउँछ,
अत्ति भएर ओम्नीको भाटभटेनी र थामसेर्कुको यतिको गेटमा नाप्छु,
ठ्याक्कै ९८ डिग्री फेेरेनहाइट आउँछ ‘बा’
बल्ल चयनको सास फेर्छु,
र सोच्दछु कि कतै अलच्छिना त लाग्दै छैन यो देशमा,

तपाईं अलच्छिनामा पनि विश्वास गर्ने कमरेड ‘बा’ हुनुभएकोले
तपाईंकै चालक दलका अर्का पाइलट
कमरेड प्रचण्डको सरकार अलच्छिना सरकार
भएकाले कोशी बाँध फुटेको भन्ने तपाईंको
दाबी स्मरणीय नै छ नि हैन प्रिय ‘बा’
हैन भने कि तपाईं झुट,
जुन मलाई पटक्कै विश्वास लाग्दैन,
कि तपाईंको कविता झुट,
कि दलाल संसदीय व्यवस्था झुट,
कि तपाईंको बृद्ध शरीर बन्धकी राखेर
राज्य दोहन गरिरहेका धुन्धुकारीहरुको ब्रह्मलुट ।

भन्नुस् खास के हो प्रिय ‘बा’
सम्माननीय प्रधानमन्त्री ज्यू !
यो देशका खातिर,
यो देशमा के भाको
सात सालदेखि सबै भागहरु सुकेर,
रुखको हाँगामै सुकेको
बयरको दाना जस्तो किन भएको ?
जस्मा माथि फिष्टे र भंगेराहरू आएर
टट्टि मात्र गर्छन्
किन बा ?

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु