गृहपृष्ठ डिजीपे‑लकडाउन्स गट ट्यालेन्ट प्रतियोगिताको पुरस्कार रकम वृद्धि

डिजीपे‑लकडाउन्स गट ट्यालेन्ट प्रतियोगिताको पुरस्कार रकम वृद्धि

स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा ‘घरमै बस्नुस्, प्रतिभा देखानुस्, पुरस्कार जित्नुस्, तनाव हटाउनुस्’ भन्ने मूल नाराका साथ आयोजना गरिरहेको ‘डिजीपे‑लकडाउन्स गट ट्यालेन्ट’को पुरस्कार रकम दोब्बर बनाएको छ । लकडाउनका कारण मानसिक तनावमा रहेका व्यक्तिहरूको तनावमुक्तिसँगै प्रतिभा प्रस्फुटनका अवसर प्रदान गर्नेगरी सुरु गरिएको प्रतियोगिताको पहिलो सातामै उत्साहजनक सहभागिता भएपछि पुरस्कार रकम बढाइएको आयोजक स्टेट एट मिडियाले जनाएको छ ।

प्रतियोगिताका मुख्य प्रायोजक डिजिटल भुक्तानी सेवाप्रदायक डिजीपेले पुरस्कारको राशि बढाएर ५० हजार पुर्‍याइएको घोषणा गरेको हो । प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन सकिनेछ ।

कोरोनाभाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे‑लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा भाग लिन आफूमा रहेको जुनसुकै प्रतिभा (नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला (कुकिङ), टिकटक, कविता आदि)को भिडियो बनाएर पठाउनुपर्नेछ । भिडियो सामाजिक सञ्जालमा लाइक र सेयरको आधारमा प्रतियोगिताका विजयी छनोट गरिने स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष शालिनी नेपालले बताइन् । ‘७५ दिनभन्दा लामो लकडाउनका कारण युवावर्गमा एक किसिमको मानसिक बेचैनी देखिएको छ, यसलाई हटाउन र सबैमा पुनर्ताजगीका अवसर प्रदान गर्न आयोजना गरिएको प्रतियोगिताबारे उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेका छन्,’ उनले भनिन् ।

प्रतियोगिताका मुख्य प्रायोजक एवं सहआयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डेका अनुसार प्रत्येक पटक १०‑१० जना गरी चार राउन्डमा ४० जना र अत्यधिक लाइक भिडियोका आधारमा थप १० जना मोस्ट पपुलर गरी ५० जनालाई पहिलो चरणमा छनोट गरिनेछ । ‘ती ५० जना प्रत्येकको डिजीपे खातामा तत्कालै एक‑एक हजार रुपैयाँ नगद जम्मा गरिनेछ,’ उनले भने । उनीहरूले विभिन्न प्रायोजकहरु जस्तैः बेननेभिज आइसक्रिमका तर्फबाट गिफ्ट ह्याम्पर, नेटम्याक्सका तर्फबाट तीन महिनासम्म निःशुल्क इन्टरनेट, टिटाइम र कफी ब्रेकले ५०० रुपैयाँबराबरको गिफ्ट ह्याम्पर, एलओडी डिस्कोमा लकडाउन खुलेपछि जोडीलाई  निःशुल्क प्रवेशका साथै स्न्क्याक्स र ड्रिंक्सलगायतका पुरस्कार पनि पाउनेछन् ।

‘यो यस्तो युनिक प्रतियोगिता हो, जसको कुनै निर्णायक (जज) हुने छैनन्, सामाजिक सञ्जालहरूमा अत्यधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिनेछ,’ पाण्डेले भने । प्रतियोगितामा भाग लिन पहिलो चरणका प्रतिस्पर्धी भिडियो जेठ ३१ गतेभित्र पठाउनुपर्ने र असार १ गतेपछि पहिलो चरणको भोटिङ र दोस्रो चरणको भिडियो आवेदन लिन सुरु गरिने उनले बताए ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु