गृहपृष्ठ दसैंका गीत : ‘विछोडको पीडा’देखि ‘ठूलेको फोन आएछ’सम्म
दसैंका गीत : ‘विछोडको पीडा’देखि ‘ठूलेको फोन आएछ’सम्म
दसैं आउनुअगावै रेडियो र टिभीमा मंगल धुन बज्न थाल्छ । मंगल धुन र दसैं गीतले झनै दसैंमा रौनकता थपिदिन्छ । नेपाली गीत संगीतको इतिहासमा दसैंसम्बन्धी गीतले महत्वपूर्ण स्थान आगटेको छ । संगीत क्षेत्रमा लागेका अधिकांश सर्जकले चाडबाडसम्बन्धी गीत गाएका छन् । तीमध्ये दसैंमा बज्ने नयाँ तथा पुराना गीत यस्ता छन् ।
बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा
कालजयी र नेपालीहरुको दसैं झल्काउने यो गीतको आलाप बजेपछि दसैं लागेको अनुभूति हुन्छ । यो दसैंसम्बन्धी पुरानो र चर्चित गीत हो । नारायण गोपाल र दिलमाया खातीले गाएको यो युगल गीत दसैंको ऐतिहासिक गीत हो । पहिला रेडियो नेपालमा दसैंको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै एफएम रेडियोले दसैंमा बजाउने गरेका छन् ।
नमुछे आमा दहीमा टीका
दसैं आउनेबित्तिकै रेडियो, टिभीहरुमा बज्ने यो गीतले पनि धेरै नेपालीको मन दुखाउँछ । सुरुमा नारायण रायमाझीले एकसरो लोकभाकामा यो गीत गाएका थिए । पछि २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि यो गीत दसैं गीतको चर्चित गीत बन्यो । भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ मा यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको गीत यसर्थमा पनि मनछुने बनेको छ ।
दसैं आयो
नेपाली चलचित्र मुग्लानमा रहेको दसैंं आयो गीत पनि दसैंमा अत्यधिक बज्ने गीतमा पर्छ । पछिल्लो पुस्ताको युवामाझ यो गीत झनै चर्चित छ । सुन्नमात्र होइन, दसैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवापुस्ता नाचिरहेका हुन्छन् ।
यो दसैंमा म घर आइन
नेपाली लोकदोहोरी गीतमा दसैं गीत भन्नेबित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा, उद्धव कार्की, सीता थापा र गीता कोइरालाले स्वर दिएका छन् । लोकदोहोरी मन नपराउनेहरुले पनि यो गीत दसैं गीतको दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन् । परदेशबाट घर फर्किन नपाएकाहरुको पीडा यो गीतमा समेटिएको छ । मार्मिक यो भाका दसैंमा धेरै बज्ने गीतमा पर्छ ।
रातो टीका दसैंको जमरा
नेपाली चलचित्रमा पनि दसैं तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दसैंको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दसैंमा उत्तिकै बज्ने गर्छ ।
दसैं नै हो कि यो मेरो दशा, फर्की आएको
दसैंमा बज्नेमध्ये यो गीत पनि धेरै चर्चित छ । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दसैं गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्यु बज्राचार्यको संगीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । २०५० सालमा रेकर्ड भएको यो गीत दसैंमा धेरै बज्ने गर्छ । यो गीतको संवादमा भनिएको ‘पैसा न सैसा टिकी ट्यास ट्यास’ हरफ धेरै प्रचलनमा छ ।
यसपालि दसैंमा ठूलो दाजु आउने रे !
लाहुरबाट दाजु घर आउने विषय रहेको यो दसैंसम्बन्धी अर्को चर्चित गीत हो । कुल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् । कुल पोखरेललाई दसैंमा मज्जाले सम्झाउने गीत हो यो गीतलाई बादल प्रसाईंले पनि गाएका छन् । नेपाली गीत संगीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत अरु गायकहरुले रिमिक्स भर्सनमा गाएपछि बालबालिकाहरुले समेत खुब रुचाउँदै आएका छन् ।
वर्ष र दिनमा लै लै
सुगम पोखरेलको स्वरमा रहेको यो गीत युवापुस्ताले औधी रुचाएको दसैं गीतमा पर्छ । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि श्रोताले दसैं गीतको फरक स्वाद लिने गरेका छन् । दसैंमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ ।
विदेश जानेको पीडा
रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको विषय समेटेर दसैं गीत बनेका छन् । श्रीदेवी देवकोटा र कुलेन्द्र विष्टको स्वर रहेको ‘यो दसैंमा आउँदैनौ जस्तो छ…’ बोलको गीत र भिडियोमा वैदेशिक रोजगारीमा गएकाहरुको यथार्थ प्रस्तुत गरिएको छ । छोरो विदेशमा गएको, बाबुआमालाई पैसा पठाएको र श्रीमतीले श्रीमानलाई सम्झेको छोराछोरीले बा आउँछन् कि भन्दै बाटो हेरका जस्ता प्रसंग यो गीतमा समेटिएका छन् । जो वैदेशिक रोजगारीमा गएका छन्, तिनले यो भिडियो हेरेर घरको याद गर्नेछन् भने घरमा हुनेहरुलाई पनि त्यस्ता भिडियोले बिदेसिएकाहरुको सम्झना गाढा गराउँछ ।
गरिबीका कुरा सबैभन्दा धेरै
दसैंलाई हुने खाने र हुँदा खाने दुबै वर्गले उत्तिकै श्रद्धापूर्वक मनाउँछन् । हुने खानेलाई खासै समस्या नहोला तर हुँदा खानेलाई भने यही दसैं दशा बनेर आउने गरेको छ । पूर्णकला बिसी र विष्णु खतिवडाका गीतमा देशमा महँगी बढेको, साहुले ऋण नदिएर पर्व मान्न नपाएको जस्ता कुरा समेटिएका छन् । राजेन्द्र कणेल र टीका पुनले ‘ए दसैं तिहार…’ शीर्षकमा घरको भत्केको भित्तो, खाने कुराको अभाव, ऋणले थिचएको जीवन जस्ता प्रसंग समेटेका छन् ।
ठूलेको फोन आएछ
उदीयमान गायक प्रविन प्रसाईंले पनि दसैं कोशेली स्वरुप ‘ठूलेको फोन आएछ…’ बोलको दसैं गीत बजारमा ल्याएका छन् । यसै साता बजारमा आएको यो गीत युवामाझ निकै लोकप्रिय बन्दै गएको छ । विदेशमा रहेको छोरोले फोन गरेको विषयवस्तु रहेको यो गीतका शब्द पनि प्रविनले नै लेखेका हुन् ।
फौजीका गीत
सेना, प्रहरीलगायत सुरक्षा निकायमा कार्यरतले कुनै पनि पर्वमा सहजै छुट्टी पाउँदैनन् । चाडपर्वमा घर जान नपाउनुको पीडा प्रहरीले पनि भिडियोमार्फत प्रस्तुत गर्ने गरेका छन् । सेना र प्रहरीमध्ये यस किसिमको भिडियो बनाउने काममा सशस्त्र प्रहरी सबैभन्दा अगाडि छ । सशस्त्र प्रहरीद्वारा निर्माण गरिएका थुप्रै दसैं भिडियो युटुबमा भेटिन्छन् भने सशस्त्रले वार्षिकोत्सव र दसैंतिहार जस्ता पर्वमा गरिएको कार्यक्रमलाई खिचेर पनि भिडियो बनाउने गरेको छ ।
प्रकाशित समय १६:३० बजे

















