गृहपृष्ठ भारती खरेल स्मृति पुरस्कार शर्मालाई
भारती खरेल स्मृति पुरस्कार शर्मालाई
यसवर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ । सहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि ५१ हजार छ ।
साहित्य साधिका तथा भक्तिमती भारती खरेलको ८१ औं जन्मजयन्ती एवं उनको स्मृतिमा आइतबार आयोजित कार्यक्रममा प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणपत्रसहित शर्मालाई सो पुरस्कार प्रदान गरिन् । प्रदेश प्रमुख कोइरालाले आगामी दिनमा पुरस्कार वितरण मात्र नभई अन्य रचनात्मक र सामाजिक कार्यहरु पनि गर्नुपर्ने बताइन् ।
भारती खरेल प्रतिष्ठानमा सुरुआतदेखि नै सदस्यका रुपमा रही योगदान दिँदै आएकी प्राध्यापक शर्माले यस पुरस्कारले आफूमा साहित्यप्रति थप हौसला जागेको बताइन् ।
प्रा. डा. हेमचन्द्र नेपालले नेपाली साहित्यमा भारती खरेलले महिलावादी चिन्तनलाई बढी प्राथमिकता दिएको बताउँदै नेपाली नारी साहित्यमा उनको अतुलनीय योगदान रहेको जानकारी दिए । ‘पुरुष दमनप्रति प्रतिवाद र महिलावादी चिन्तन गर्ने खरेलको साहित्यका प्रमुख विशेषता हुन,’ उनले भने । खरेलका ‘एउटी आमाको कथा’, ‘लाहुरे’, ‘गंगा जमुना’, ‘कुमारी आमा’ गरी चार उपन्यास प्रकाशित छन् । त्यसैगरी उनले अन्य कविता संग्रह, लघु उपन्यास, भजन र गीत पनि प्रकाशित छन् । प्रतिष्ठानको वि.सं. २०४९ मा स्थापना भएको थियो ।
रासस
प्रकाशित समय १७:३५ बजे

















