गृहपृष्ठ म एक हरप्पा !
म एक हरप्पा !
उहिले नै लोप हुन लागेको
म एक हरप्पा,
कालरात्रिअगावै समयको
बर्खास्तगीमा परेपछि
म कलियुगको
पूर्वार्धमा लखर लखर
आइपुगेको छु ।
कहिले नदीहरुमा फाल हान्छु,
चुच्चे असला माछाहरु,
माझी बनेर आइदिन्छन्
र किनारा लगाउँछन्, एक मुठ्ठी चैन हुन्छ मलाई
कहिले कालकुट पिएर किनारा लाग्छु भन्छु
सर्वेश्वर आएर तारिदिन्छन्
धागो चुन्डिएको चङ्गा हुन्छु
कहिले म
खाग हुन्छु खाग भनेर,
क्रब्याध अग्नि पुकार्छु,
र
मलाई पोल्न आइपुगेका अगोका लप्काहरुलाई
बरुन देव आइपुग्छन्,
गंगोत्री वर्षाएर बुझाइदिन्छन् आगोका लप्काहरु
र पो
शीतल हुन्छु,
पछि आताल्लिएर
विरौटाम ऊभिएको
धुपीलाई सोध्छु
ए धुपी गुरु !
म उहिल्यै नै लोप हुन लागेको एक हरप्पा
कसले ल्यायो मलाई
लखार्दै लखार्दै कलिको मूलधारमा हँ ?
जम्मा १० मिटर लामो धुपीले भन्यो
ए अवचेतन सरावी !!
आऊ मेरो टुप्पोमा पुग
आऊ,
म मुक्त गराइदिन्छु तिमीलाई
सुखावतिमा भिसा सुनिश्चित गराइदिन्छु…
बुर्कुसी मार्दै
धुपीको रुखमा सुर्कुलो लाग्दै गर्दा
हठात झसंग हुन्छु, ब्युझन्छु
हिजै त मैले धुपीका सबै हाँगाहरु काटेर
कलियुगको सिस्नु बारी बारेको थिएँ ।
कठै म हरप्पा ।
उहिल्यै लोप हुन लागेको एक जिनस ।
म एक हरप्पा !
प्रकाशित समय १४:३३ बजे

















