गृहपृष्ठ साउने झरीका ‘मायालु’ गीतहरू

साउने झरीका ‘मायालु’ गीतहरू

‘पानीले लागेर रुखविरुवाको पात हल्लिएको दृश्य र पानीको ‘सररर’ आवाजले मन त्यसै-त्यसै रमाउँछ । घरबाहिर निस्कन नपाए झ्यालबाट नियाल्न पाउँदा पनि कम्ती रमाइलो महसुस हुँदैन झरीमा । छाता ओढेर सडकैसडक हिँड्नु अलि पर-परसम्म, जमेको पानीमा खुट्टा चोपल्दै । छड्के पानीले भिज्दै गएपछि छाता नै थन्क्याएर पुरै लछेप्रै हुनु । टाउकोको पानी नाकको टुप्पो हुँदै बगोस्, ज्यान पोखरीमा डुबेर निस्किएजस्तो होस् । यसरी झरीमा बेस्सरी रुझ्नु पाउँदा गुनासो हैन, आनन्द लाग्छ ।’ बानेश्वरकी निलिमा गिरी झरीको प्रसंगमा रोमाञ्चित हुँदै खुलिन् ।

मुसलधारे हैन, ठिक्कको तर अलि लामो समयसम्म बर्षा हुनु झरी हो । महिनाअनुसार नाम दिइन्छ झरीलाई, साउने झरी, भदौरे झरी, माघे झरी । लामो झरी त विनाशकारी नै हुन्छ, बाढीपहिरो र डुबान निम्त्याउने । तर झरी मायालु नै हुन्छ, विशेषत मायालु जोडीहरुका लागि, नवयौवनाहरुका लागि । बेपर्वाह रुझ्छन्, झरीलाई नै चुनौती दिएजसरी । भलै चिसोले बिसञ्चो नै हुनु किन नपरोस् ।

बाध्यता अनि रहरै-रहरमा । अझ भनौँ, मायालुको साथले हौसिएर रुझिहिँड्ने तरुनीतन्नेरी मात्रको के कुरा । झरी खेतीबाली र बोटबिरुवाका लागि पनि ‘मायालु’ नै हुन्छ । तर मानवीय संवेदना वा मनलाई छुने कुरा भएर हुनसक्छ, गीतसंगीतमार्फत झरीको प्रसंग बढीजसो मायापिरतीसँग जोडिन्छ । सायद त्यसैले होला, साहित्यकारहरुले पनि यही प्रसंग समेटेर शब्द बुनेका छन् । गीतमा, कवितामा, आख्यानमा । मायापिरतीको फ्रेमभित्र । हुन त धेरै गीत मायापिरतीकै छन् । त्यस्ता गीतहरु सम्बन्धित माहौलले अझ सान्दर्भिक बनाउने होला, बनाउने रहेछ । अहिले मध्य बर्खा छ, झरीको महिना साउन । त्यही भएर पनि अहिले असार-साउनका गीतहरु, झरीका गीतहरु हरेकको मनमा गुञ्जिन्छन् । मायालु भाव उरालेर ।

‘म अस्कल क्याम्पस पढ्थेँ । झरी र मायापिरतीको परिवेशलाई नै आधार बनाएर कविता लेखेको थिएँ,’ डा. सायमी आफूले २०३२ सालतिर १९ वर्षे अल्लारेवयमा कविता लेख्दाको क्षण सम्झिन्छन् । ‘झरीप्रेमी’ गीतकार डा. सायमीले चलचित्र ‘छोरो’का लागि पनि गीत लेखेका छन्, ‘बर्षा तिमी झमझम गरी बर्षिदेउ न’ ।

‘झरी गीत’को प्रसंगमा सर्जकहरुको पनि साझा अनुभूति छ । रचना गर्भसमेत उस्तै-उस्तै । नवीन के भट्टराईले गाएको ‘ए झरी’ बोलको गीत झरी गीतमध्ये ‘हिट गीत’ हो । यसका शब्दकार डा. अरुण सायमीलाई लाग्दैन झरीको सिर्जनामा मायापिरतीको सन्दर्भ नजोडिएको कुनै गीत वा साहित्य होला । भन्छन्, ‘झरीको माहौल नै रमाइलो हुन्छ । म आफैँलाई पनि बच्चैदेखि झरी मन पर्छ ।’

डा. सायमीको लामो कवितालाई गीतको ढाँचामा ल्याएर रेकर्ड गरिएको उनको ‘ए झरी’ १४ वर्षअघि रेकर्ड भएको हो । तर अझै पनि उत्तिकै कर्णप्रिय र लोकप्रिय छ । ‘म अस्कल क्याम्पस पढ्थेँ । झरी र मायापिरतीको परिवेशलाई नै आधार बनाएर कविता लेखेको थिएँ,’ डा. सायमी आफूले २०३२ सालतिर १९ वर्षे अल्लारेवयमा कविता लेख्दाको क्षण सम्झिन्छन् । ‘झरीप्रेमी’ गीतकार डा. सायमीले चलचित्र ‘छोरो’का लागि पनि गीत लेखेका छन्, ‘बर्षा तिमी झमझम गरी बर्षिदेउ न’ ।

झरीका वातावरणले खास गरेर युवायुवतीको मनमा स्वभाविक रुपमा मायापिरतीको भाव उब्जने गीतकार श्रीपुरुष ढकालको बुझाइ छ । आफूले पनि पानी परेको परिवेशमै ‘बर्षातमा उनी रुझ्दा’ गीत लेखेको ढकालले बताए । ‘म पोखरामा थिएँ । अचानक पानी पर्‍यो । सायद कलेजका छात्राहरु हुनुपर्छ । निथ्रुक्कै भिजेको उनीहरुको केशबाट पानी चुहिरहेको थियो । यही परिवेशमा गीत जन्मियो,’ उनी ‘फ्लासब्याक’मा पुग्छन् । झरीका अन्य परिवेशलाई पनि उनले छुटाएका छैनन् । विजयसिं मुनालको संगीतमा गोपाल श्रेष्ठले उनको गीत गाएका छन्, ‘सिमसिमे पानीमा मायालु यसरी रुझिरहौँ न’ ।

गीतकार अगम राई ‘बिकराल’ प्राकृतिक विषयवस्तुहरुले मानिसको मनमष्तिस्कलाई आफसेआफ छुने तर्क गर्छन् । ‘हावा, पानी, झरना, खोला, आकाशजस्ता प्राकृतिक कुराहरुले मनमा मायापिरतीका मात्र नभएर हृदयका भावहरु बोल्छ,’ उनी तर्क गर्छन्, ‘अझ झरी त प्रत्यक्ष रुपमै अनुभव गर्न सकिने र शारीरिक रुपमै प्रभाव पार्ने कुरा भएकाले यसबाट मनमा भावहरु बढी उब्जनु स्वभाविक हो ।’ वर्खमा खेतीपातीको व्यस्तता र अन्य असहजताले गर्दा टाढा रहेका आफन्तहरुसँग भेटघाट कम हुने भएका कारण पनि पानीझरीसँग मायालु भावहरु मनमा अरुबेला भन्दा केही बढी तरंगित हुने उनी बताउँछन् ।

वर्षौअघि दिलमाया खातीद्वारा स्वरवद्ध गीतले विरक्तिएको भावमा भन्छ, ‘साउन फर्की फेरि झर्‍यो, माया लगाई निस्ठुरी फर्केन’ । ‘असारे महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मनलाई कसरी बुझाउने’ छुजन डुक्पाले गाएका छन् । पछिल्लो पुस्ताका गायक प्रताप दासको गीतमा पनि मायालु भाव नै झल्कन्छ, ‘झरीजस्तै तिम्रो मायामा रुझ्न मन लाग्यो’ ।

साहित्यकार डा. गीता त्रिपाठीको पनि सहमति छ, ‘झरीले पीडाको आवेग होइन, एकान्तमा अनुभूत हुने सघन भावलाई छोएको हुन्छ । त्यसैले झरीमा वियोगको चरम अनुभूति हुन्छ । मिलन र प्राप्तिको अपेक्षा पनि चरम हुन्छ । झरी जसरी जमिनलाई बिस्तारै तर भित्रैसम्म गलाउने सामर्थ्य राख्छ, मनलाई पनि निथ्रुक्कै बनाउने अर्थमा ज्यादा पूर्ण लाग्छ ।’ गीतमा प्रकट भएका झरी केवल मौसमी झरी मात्र नभएर सामयिक अनुभूतिलाई प्रतीकात्मक रूपमा व्यक्त गर्ने माध्यम पनि भएको डा. त्रिपाठीको धारणा छ । भन्छिन्, ‘झरी अभिधा अर्थमा पनि वर्षाभन्दा कोमल र निरन्तर भन्ने बुझिन्छ ।’

पानीझरीको प्रसंगमा अरु पनि धेरै गीत बनेका छन्, लोकप्रिय छन् । नारायण गोपालका लागि दिपक जंगमले लेखेको गीतले मायालुलाई सम्झेर भनेको छ, ‘साउनको झरी बनी तिमी आउन’ । दार्जिलिङका गायक बिपुल क्षेत्रीले आनन्दी भावमा गाएका छन्, ‘पानी पर्‍यो सरर, छाना बज्यो गरर’ । वर्षौअघि दिलमाया खातीद्वारा स्वरवद्ध गीतले विरक्तिएको भावमा भन्छ, ‘साउन फर्की फेरि झर्‍यो, माया लगाई निस्ठुरी फर्केन’ । ‘असारे महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मनलाई कसरी बुझाउने’ छुजन डुक्पाले गाएका छन् । पछिल्लो पुस्ताका गायक प्रताप दासको गीतमा पनि मायालु भाव नै झल्कन्छ, ‘झरीजस्तै तिम्रो मायामा रुझ्न मन लाग्यो’ ।

हिन्दी गीतहरुमा पनि असार-साउनको झरीमय प्रसंगहरु समेटिएकै छन् । खोजीपस्दा, नेपाली गीतसंगीतको प्रारम्भिक कालमै पनि पानीझरीका गीतहरु गाइएको पाइन्छ । यो क्रम अहिले पनि उस्तै छ । चाहे लोकलयमा होस्, वा पप या सुगम शैलीमै । झरीका गीतहरु जन्मिइरहेछन् । मायाको भावमा, पिरतीको भावमा । मानौं, झरी मायालु छ । झरी नशालु छ ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु