गृहपृष्ठ एड्भा
एड्भा
जनावरीमा तेलअभिव सधैँजस्तो आज पनि चिसो थियो । आफ्ना हर्क्युलिन छातिहरूमा पक्का, दरिला र लाम्चा सडक बोकेर त्यहीँ नै वर्षौंदेखि अचल थियो । रातमा बाटो छेउका ल्याम्पपोष्टहरू गर्धन झुकाएर बलेका आँखाले केही खोज्दै थिए ।
‘आइ नो द्याट ड्रेस इज कर्मा, पर्फ्युम रिग्रेट’ चार्ली पुथको आवाजले मेरो मोबाइलमा घण्टी हान्यो, केशव रहेछ । ‘कता हो आज हाम्रो मिलन ?’ हेल्लो भन्न नपाउँदै उसले सोधिहाल्यो । ‘त्यहीँ त होला नि अड्डातिरै (सधैँ भेट्ने ठाउँ) !’ मैले जवाफ दिएँ । ‘हो, त्यहीँ जाऔँ, मलाई फाप्छ त्यहाँ ।’ उत्साहित हुँदै उसले समर्थन गर्यो । ‘तँलाई त जहाँ पनि फाप्छ नि ! छम्मा भए नर्क पनि स्वर्ग लाग्छ तँलाई,’ मैले पनि मौका दुई शब्द छाडिहालेँ । ‘हा.. हा.. हा’ केटाले हाँसेर उडायो । म पनि एकपटक लामो हाँसो हासेँ ।
‘हाम्लाई पनि सिकान हौ !’ मैले मजाक गर्दै भनेँ । ‘चालिस सेकेल पर आवर लाग्छ । हुन्छ ?’ केटाले किनेर उपभोग गर्ने आइडिया बतायो । ‘चुप लाग मुला । मलाई त्यसरी सिक्नु छैन ।’ मैले साफ इन्कार गरिदिएँ ।
‘के बाबाजी पल्टिन खोजेको नि,’ उसले भन्यो, ‘स्याललाई अङ्गुर अमिलो भनेको यही हो । तँ मुलाले जिन्दगीको मजा बुझेकै छैनस् । मलाई जीवनको पाठसमेत पढाउन भ्यायो । ‘पख् म सरोज र राजेशलाई पनि फोन गर्छु । सी यू देअर ।’ उसले फोन राख्यो ।
बरु बाउआमासँग बोलेको कुरा पूरा हुँदैन, साथीले भनेको कुरा दुई पटक भन्नुपर्दैन । भावनाले जोडिएको सम्बन्ध त्यसैले मजबुद हुन्छ ।
आज पब जाने योजना बन्यो । त्यसै पनि धेरै जनाले शुक्रबारलाई ह्याप्पी फ्राइडेको रुपमा मनाउँछन् । हुन पनि यही एक रात हो हप्ताभरिमा, हामी मान्छे भएर बाँच्ने । विदेशमा त यसको महत्व अझै धरै हुन्छ । हप्ताभरी फोन गर्नसमेत अलर्ट भएर काम गर्ने, पढ्ने । मोज गर्ने समय कहाँ हुन्छ र ? बल्ल आउने शुक्रबार के गरौँ र कसो गरौँ हुँदै बित्छ । फेरि इजरायलमा शुक्रबार साँझ ५ बजेबाट शनिबार साँझ सवा ५ बजेसम्म सब्बात अर्थात् विदा हुन्छ । यो अवधिमा यहूदीहरु काम गर्दैनन् र गराउँदैनन् पनि । यही हो आराम र मस्तीका रुपमा हामीले प्रयोग गर्न सक्ने समय । आज चाहिँ बेलैमा मौकामा चौका हान्ने योजना बन्यो ।
बियर, वाइन, पुल, डिस्को, आजको सेडुल । म नुहाएर हतार–हतार आफ्नो बाटो लागें । त्यहाँ पुग्दा केटाहरू भेला भइसकेका थिए । यी केटाहरुमा ‘तर’ अर्थात ‘तरुनी’ र ‘रक्सी’ले जीवनमा कहीँ नभएको जाँगर पैदा गराउँछ । हुन त म पनि त्यही केटामध्ये एक हुँ । आ, जे होस्, ‘के छ केटा हो ?’ सबैले हात मिलायौँ । ‘आज एनएसएसको मूड कस्तो छ ? राजेशले सांकेतिक शब्द प्रयोग गर्यो ।
केटाहरुले जिस्कँदै नेपाल सहवास समाज नामको संस्था खोलेर ख्याती कमाउने कुरा गर्थे । यसैको सटफर्मलाई हामीले सांकेतिक बनाएका थियौँ । भन है राज कस्तो स्याउ खाने हो, लेकको की बेसीको, जम्मु कश्मिर कि हुम्ला, गोरखाको ? यति सोधेर ऊ गलल हाँस्यो । मैले पनि फिस्सा हाँसेर केटाहरुको भनाइबाट थोरै मजा लिएँ । ‘हेर्दै जाओ ।’ म हाँस्दै अघि बढेँ ।
एक–एक वटा क्यान बियर हातमा लिएर हामी हुटर्स बारको पुल हाउसतिर छिर्यौँ । पुल हाउसतिर त्यति भिँड थिएन । हामी चारजना साथी पुल खेल्दै थियौँ । हो, त्यत्तिखेर नै त हो नि मैले एड्भालाई देखेको । टाढाबाट हेर्दा त्यति राम्री त होइन तर एक्ली केटीलाई कुनामा बसेर पिइराखेको दृष्यले मलाई तान्यो, ब्याड लक भएका बेला पुलको प्वालले क्यूबल तानेजस्तो ।
एड्भालाई देखेपछि वाइन बियरले छुँदै नछोइ आँखाहरुमा नशा भरिएजस्तो महशुस हुन थाल्यो । उनलाई तलदेखि माथिसम्मै हेरेँ । पूरुष अहम साँचेर बसेका मेरा पापी आँखा उनको शारिरीक भूगोलमा निर्वाध विचलन गर्न थाले । म पुलमै टिकिरहन सकिनँ । मेरो आदतबाट म जति भाग्न खोजे पनि असफल थिएँ । हेर्दै पिउँदा नशा निकै चढिसकेको थियो । त्यसैले त चार बल बाँकी छँदै ब्ल्याक बललाई पुस मारिरहेको थिएँ । म एड्भाको नजिकै गएँ र अर्को क्यान बियर अर्डर गरेँ ।
‘एक्लै हो ?’ संवाद त मैले सुरु गरेँ तर उसले खासै वास्ता गरिन । अरुबेला भए मलाई पनि बाल हुन्थ्यो र ? नबोल्ने र भाउ खानेलाई त म झन् एक ग्राम पनि भाउ नदिने मान्छे । भाउ नखाई नछाड्ने केटी पाइँदैन भने बरु ब्रह्मचारी बसौँला । तर, क्यानले मलाई उनको रुपको फ्यान बनाइसकेको थियो । त्यहाँ बीचमा भाउ भन्ने कुरा अघि नै आउट भईसकेको हुँदो हो । अब मैले त्यहाँ आफूलाई कुनै मूल्यमा प्रस्तुत गर्नेवाला थिइनँ ।
आफ्नै धुनमा पिइरहेकी उसलाई नजिकैबाट नियाल्ने मौका पाएँ । नजिकबाट भने अलि राम्री देखिई । गलासम्मको खैरो कपाल, चुच्चो नाक, गोरो तर छ्याके–छ्याके परेको छाला, उमेर भने बीस–बाइसतिरकी हुँदी हो । मलाई सबैभन्दा उसको ओठले लोभ्याएको थियो । टिपिक्क परेको, रातो गुलाबको पत्रजस्तो । ह्वीस्कीको रसमा लतपतिएर कति रसिलो भएको थियो । ‘मेरो आजको स्याउ ।’ मेरो मनमा कल्पनाकाे लड्डु फुट्यो, मनले त रहस्वादन गरिसक्यो । तर, अझै म तृप्त हुन सकेको थिइँन । मनमनै दंगिएँ– मेरो आजको समय बरबाद हुनेवाला छैन ।
आल्मोनियमको रेलिङलाई एउटा हातले समातेकी थिई, अर्को हातमा ह्वीस्कीको पातलो गिलास । मैले पनि दायाँबाट त्यही रेलिङलाई समाएँ । उतिर मेरा नजर बिछिएका थिए । तलदेखि माथीसम्मै नियालेँ । मनमनै त्यो युद्धसंग्राम कल्पना गरेँ । तर विजय र पराजयको निचोड भने निकाल्न सकिनँ । त्यहाँ के विजय के पराजय ? मैले जिते उसले जित्ने हो, हारे सँगै हार्ने हो । मनमनै मुस्कुराएँ । ओठसम्म आइसकेको मुस्कानलाई ओठमै गाभिदिएँ । अहिले हाँसे भने कसैले मलाई पागल नभनुन् ।
केटाहरुले हातमा पुलको स्टीक समाए पनि ध्यानजति सबै मैतिर खन्याएका हुँदा हुन् । जसरी छरिएका पुलका बलले केटाहरुको स्टीक हेरिरहेका थिए । सरोजले आफ्नो हाःफ बललाई पावर सट हान्यो तर क्यू बल चिप्लिएर ब्ल्याकतिर गएर ठोक्कियो र ब्ल्याक बल मिड पकेटमा छिर्यो । राजेश हाँस्यो ।
‘साला हरेक गेममा रिस्क हुन्छ । रिस्क बेगरको गेम केही छ त ?’ गेम हारेपछि सरोजले यसो भनेर चित्त बुझायो । मैले सोचेँ, हो त म पनि गेम नै खेल्न खोजिरहेको छु । त्यसका लागि रिस्क त लिनैपर्छ नि ! ‘हे’ मैले उतापट्टी आफूलाई सोझ्याएँ ।
उसले म तिर हेरी र ‘हेए’ रिप्लाइ गरी । आमने सामने भएपछि म हल्का नर्भस भए । तर अनुभव थियो सम्हालिने ।
‘तेरो त आज म ।’ मैले नेपालीमा आफ्नो ओठ चलाएँ ।
‘सरी ?’ उसले कन्फरमेसन खोजी । ऊ जो नेपाली बुझ्दीन थिई । बुझ्ने भए म पनि त्यसरी भन्दिन थिएँ । घरी घरी के मूड चल्छ । आफूलाई सम्हालेँ । अनि भनिदिएँ, ‘तिमि राम्री छौ । म तिमिसँग बसेर केही गफ गर्न चाहन्छु ।’ ‘अवश्य,’ उसले स्वीकारी ।
सिजोनपट्टिको मेचमा गएर बस्यौँ जहाँबाट प्रष्ट रुपमा समुद्रको बीचबीचमा बलिरहेका बत्तीहरु झिलमिलाईरहेका देखिन्थे, सायद हाम्रो शुक्रबार ह्याप्पी बनाउन ।
टेबुलमा राखिएको खैरो ब्यागबाट उसले रोयल ब्राण्डको सिगरेट निकालेर सल्काइ ।
‘तिमि के चाहान्छौ ?’ उसले सिधै सोधी ।
मैले भने– तिमि ।
‘तिमिलाई थाहा छ ? हरेक कुराको मूल्य हुन्छ । आफ्ना चाहाना परिपूर्ति गर्न केही कुरा समर्पण गर्नुपर्छ ।’ अब चाहिँ उसले भाउ खोजी ।
मैले हतारिएर सोधेँ, ‘अवश्य, त्यो के हो ?’
‘मार्केटमा कुनै कुरा मन परे तिमि के गर्छौँ ?’ उसले फेरि सोधी ।
‘मूल्य सोध्छु र किन्छु,’ मैले सोझो जवाफ फर्काएँ ।
‘मूल्य सोध्दैनौँ ?’ आखिर कुरा फेरि मूल्यमै आयो । सायद उसको मूल्य म आफैँले प्रस्ताव गर्नुपर्ने थियो ।
‘म कुनै पनि चिजलाई मूल्य चुकाउनुअघि त्यसका फाइदा र सुविधाबारे जान्ने गर्छु,’ मैले बार्गेनिङवाला जवाफ दिएँ ।
‘धेरै राम्रो,’ उसले भनी, ‘बिना फाइदा र सुविधाको वस्तु के काम ? तर, क्रेताले त्यो वस्तुलाई कति जतनले प्रयोग गर्छ, कति टिकाउँछ, त्यो पनि उत्तिकै महत्वपूर्ण हुन्छ, तिमि के भन्छौँ ?’ फेरि सोधी । मानौँ, हामी प्रोफेसनल विजनेस डील गर्दैछौँ । ऊ त प्रोफेसनल नै थिई, म त थिइनँ नि !
‘एकपटक वस्तु किनेर प्रयोग गर्न त पाउँ, त्यसपछि थाहा हुन्छ, पुनः प्रयोग गर्ने, सजाएर राख्ने वा फालिदिने,’ मैले अलि बुझ्ने गरी उत्तर फर्काएँ ।
‘५ हन्ड्रेड सेकेल विदाउट अपार्टमेन्ट,’ बहुप्रतिक्षीत उत्तर मिल्यो । मभन्दा ज्यादा त्यो बियर बढी उत्पट्याङ थियो । म प्रश्न र जिज्ञासा रोक्न खोज्छु ऊ धकेलिरहन्छ । आखिर बियर आफैँले खोजेर तयार गर्यो आजको सितन । तर, पर्स मेराे रित्तिनेवाला थियाे ।
मोरो केशव, फसाइहाल्यो नि ! आवरको होइन, नाइट क्वीनले त पूरा रातको कुरा गरी । के गरौँ ? नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार । केटाहरुलाई छाडेर जाउँ भने भोलिदेखि मलाई गाली गर्नेबाहेक यिनीहरुले अरु कामै पाउँदैनन् । नजाउँ भने, बियरले सितन मागेर हैरान छ ।
‘प्लीज लेट मि थिङ्क ।’ म जवाफ दिएर केटाहरुतिर गएँ ।
बाँकी अंश अर्को शनिबार
प्रकाशित समय ०८:०१ बजे

















