गृहपृष्ठ नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा, थिंक ट्यांक गठन
नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा, थिंक ट्यांक गठन
खुर्सिद अन्सारी सहिद घोषित
नेपाल प्रहरीका तीन डीआईजी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
शुक्रबार राति सम्पन्न मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफरिस अनुसार नै पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवा गरेको हो । सिफरिसमा पुस्कर कार्की पहिलो, ठूले राई दोस्रो र धिरु बस्नेत तेस्रो नम्बरमा परेका थिए ।
यो सँगै कार्कीले अब प्र्रहरी मुख्यालयको कार्य तथा अपराध अनुसन्धान विभाग सम्हाल्नेछन् भने राईले मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतले प्रहरी प्रशिक्षण प्रतिष्ठानको कमाण्ड सम्हाल्ने भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले माथिल्लो अरुण आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक मार्फत बनाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकूल बास्कोटाले जानकारी दिए ।
बैठकले गत बिहिबार सुनसरीमा गोली प्रहार गरी हत्या गरिएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गरेको छ भने परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
लामो समयको बहसपछि सरकारले थिंक ट्यांक गठन गरेको छ । सरकारले यसलाई नीति अनुसन्धान प्रतिष्ठान नाम दिएको छ । प्रतिष्ठानमा प्रा. डा. चैतन्य मिश्र, डा. मिना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ सदस्य छन् । थिंक ट्यांकले सरकारलाई सुझाव दिने काम गर्नेछ ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।
प्रकाशित समय ०७:२९ बजे

















