गृहपृष्ठ राजनीति (कविता)

राजनीति (कविता)

राजनीति
साधुको लागि बर्जित छ
नैतिकताको सवालमा
बेठिक छ
नीतिहरुको उत्कृष्ट नीति
गुट नीति र झूठ नीतिको
शिकार छ राजनीति

 

केही सिमित व्यक्तिको
लाभार्थ
उन्माद छ राजनीति
संभावनाको कला भनिए पनि
राजनीति
कलाशिल्पिले क्षीण छ
विचारकहरुको होइन
दलालहरुको राज छ

 

राजनीति
विवादले ग्रस्त छ
च्याखे दाउको
जुवा जस्तै छ
मानिसको होइन
बुख्याचाको रासलिला जस्तै छ
दलहरूको अनियन्त्रित सिद्धान्तको
त्रिशंखुमा छ राजनीति

 

नगर वधु समान
झूठ र कृपण छ
कतै द्रव्य संचयको
होड छ
हिंस्रक वन भालु जस्तो
घिन लाग्दो छ राजनीति

 

मूल्य हिनहरुको अधिकतम
विनियोजन छ
संगठित अपराधको
बिगबिगी छ
राजनीति ठूलो
जुवाको खाल जस्तै छ
जहा आफू कहिल्यै नहार्ने
खेल खेल्नु पर्ने
जुवाडेहरुको जमात छ
राजनीति जुवा जस्तै छ
साधुहरुलाई बर्जित छ
राजनीति कहिल्यै
हार्न नहुने जुवाको
खाल जस्तै छ ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु