गृहपृष्ठ राज्यलाई नै एक अर्ब ठग्ने दाउ !
राज्यलाई नै एक अर्ब ठग्ने दाउ !
सरकारको गल्तीले मान्छे मरे, सरकारले एक अर्ब क्षतिपूर्तिका निर्णय ग-यो, गृह मन्त्रालयले काभ्रेको रोशी गाउँपालिकालाई क्षतिपूर्ति दिन पत्र पनि लेख्यो ।
सुन्दै अपत्यारिलो लाग्ने पत्र बनाएर राज्यलाई नै ठग्ने कति चतुर दिमाग भएका मानिस होलान् ? प्रहरीले राजधानीको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारकै गेटबाट एक जोडीलाइ पक्राउ गरेपछि यो अपत्यारिलो खबर बाहिर आएको हो ।
प्रहरीले यही असार १६ गते १४:०० बजे सिंहदरबार दक्षिण गेट नजिकबाट काभ्रे धुलिखेल बस्ने ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका पति३८ वर्षीय राजकुमार गाग्ले थापालाई पक्राउ गरेको छ ।
उनीहरूबाट प्रहरीले गृह मन्त्रालयको लेटर प्याडमा लक्ष्मीको बुबाको मृत्यु नेपाल सरकारको कारणले भएको र क्षतिपुर्ती स्वरूप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी १ अर्ब ८ करोड ७६ लाख दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको किर्ते हस्ताक्षर गरी काभ्रे रोशी गाउँपालिका ७ का वडा अध्यक्ष पोष्टनाथ वोगटीलाई लेखेको पत्र बरामद गरेको छ ।
चतुर जोडीले गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरिएको फेला परेको छ । सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा महानगरिय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात फेला परेको हो ।
उनीहरुको साथबाट किर्ते पत्रबाहेक १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी तथा नगद रु ४२ हजार २१० समेत बरामद भएको छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:२५ बजे

















