गृहपृष्ठ स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा
स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा
एकभन्दा बढी स्वर्ण विजेतालाई ११ लाख
सरकारले १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख नगद दिने घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बधाई कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई बधाई दिँदै नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
जसअनुसार रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा गरे । टिम गेममा भने स्वर्ण जित्ने खेलाडीहरूले प्रतिखेलाडी ५ लाख रूपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए । सागमा पाैडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले ११ लाख पुरस्कार पाउनेछन् । यस्तै स्वर्ण पदक जित्ने प्रशिक्षकलाई पनि पाँच लाख रुपैयाँ प्रदान गरिनेछ ।
काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।
केही अस्पष्टता
खेलाडीका लागि प्रधानमन्त्रीले गरेको पुरस्कार घोषणामा केही अस्पष्टता रहेको छ । टिम इभेन्टमा रजत जित्ने खेलाडीले कति पुरस्कार पाउने घोषणा गरिएको छैन । टिम म्यानेजर र अन्य सहयोगीले रकम के-कति पाउने भन्नेबारे पनि खुलेकाे छैन ।
त्यस्तै, स्वर्णसँगै रजत र कास्य विजेता तथा एकभन्दा बढी रजत वा कास्य विजेताकाे हकमा के कति पुरस्कार दिइनेबारे पनि स्पष्टता छैन ।
यसअघि सरकारले स्वर्ण पदक विजेतालाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कास्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।
प्रकाशित समय १६:२३ बजे

















