गृहपृष्ठ ‘आफू जोखिममा रहेर उपचारमा खटेका स्वास्थ्यकर्मीलाई सबैले सम्मान गरौं’

‘आफू जोखिममा रहेर उपचारमा खटेका स्वास्थ्यकर्मीलाई सबैले सम्मान गरौं’

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड- १९ को खोप आगामी वर्ष (सन् २०२१) को सुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड १९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उनले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखेका हुन् ।

रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उनको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकीन हुने उनले बताए । ‘खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ,’ उनले भने ।

खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उनको भनाइ छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, अरु रोग भएका व्यक्ति छि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ । खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली रहेको छ ।’ भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उनको धारणा छ । माक्सको प्रयोग गरेर र अरु व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो व्यवहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उनले सबैलाई सजग गराएका छन् । कसैले पनि आफूलाई संक्रमण नहोस् भन्ने चाहेको भन्दै उनले स्वास्थ्यकर्मलाई दोष लगाउन नहुने बताए । उनका अनुसार आफू जोखिममा रहेर पनि नियमित रुपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्न खाँचो छ ।

विश्वका सबै देशमा संक्रमितको उपचारमा अग्रपंक्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उनको भनाइ छ । सबै व्यक्तिको कल्याण स्वास्थ्कर्मीमा निर्भर रहने उनले बताए । ‘कोभिड र त्यसबाहेकका अरु रोगको उपचारका लागि स्वास्थ्कर्मी नै चाहिन्छ,’ उनले भने ।

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु