गृहपृष्ठ मुख्यमन्त्री कार्यालयको गाडी र मोटरसाइकल मर्मतमा १७ लाख सकियो
मुख्यमन्त्री कार्यालयको गाडी र मोटरसाइकल मर्मतमा १७ लाख सकियो
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले सवारी साधन मर्मतमा मात्रै सत्र लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रालयले उक्त रकम खर्चिएको हो ।
१२ वटा चारपांग्रे सवारी साधन र १२ वटै मोटरसाइकललाई मर्मत गर्दा एक वर्षमा १७ लाख १२ हजार ६ सय ३० रुपैयाँ खर्च भएको हो । चौधवटा मोटरसाइकलमध्ये दुईवटा लिलाम गर्ने तयारीमा थन्किएका र चौधवटा चारपांग्रे साधनमध्ये दुईवटा पुराना भई थन्किएको कार्यालयका लेखासहायक दिपेन्द्रकुमार सिंहले जानकारी दिए । उनका अनुसार सातवटा मोटरसाइकल २०७५ सालमा मन्त्रालयले खरिद गरेको हो । बाँकी साविकको क्षेत्रीय प्रशासन कार्यालयबाट हस्तान्तरण भएको सिंहले जानकारी दिए ।
त्यस्तै चारपांग्रे सवारी साधनमध्ये आर्थिक वर्ष ०७५/०७६ सालमा दुईवटा खरिद गरिएको लेखासहायक सिंहले जानकारी दिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडी भने हालसम्म उर्जा मन्त्रालयको नाममा भएको मन्त्रालयले जानकारी दिएको छ । अन्य सवारी साधन भने क्षेत्रीय प्रशासनबाट हस्तान्तरण भएका हुन् ।
त्यस्तै मन्त्रालयले गरेको अन्य खर्चमा पदाधिकारी सवारी साधनका लागि ईन्धनमा १३ लाख ७६ हजार ८ सय १८, अनुगमन मुल्यांकन खर्चमा ७ लाख १७ हजार ५ सय ६२, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरु काजमा जाँदा र सरुवा भएर आउँदा-जाँदा पारिवारिक भ्रमण खर्च २१ लाख १३ हजार ५२ र विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमणको नाममा ३१ लाख २८ हजार ७ सय ६१ रुपैयाँ खर्च गरेको हो । योबाहेक कार्यालय प्रयोजनका लागि ईन्धन खर्च ११ लाख ७२ हजार ८ सय ८२ रुपैयाँ मन्त्रालयले खर्च गरेको हो । सञ्चार महसुलमा ६ लाख ६४ हजार २ सय ३, पानी तथा बिजुलीमा ६ लाख ५५ हजार ५०, मेशिनरी तथा औजार मर्मतमा १ लाख ३० हजार ७ सय ६५, भवन मर्मतमा ६ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ मन्त्रालयले खर्च गरेको हो ।
मसलन्द तथा कार्यालय सामग्रीमा २३ दाख ५० हजार ४ रुपैयाँ, अन्य प्रयोजनको लागि ईन्धन १ लाख ६० हजार ३ सय ७७, कार्यक्रम खर्च ३८ लाख ३६ हजार ९ सय ९४, घरभाडामा ५ लाख ८४ हजार ५ सय , करार सेवा शुल्क ३३ लाख ४२ हजार ४ सय ६ रुपैयाँ मन्त्रालयले खर्च गरेको हो ।
मन्त्रालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायका अनुसार पदाधिकारीको पारिश्रमिकमा १ करोड ४२ लाख २९ हजार ५०, कर्मचारी पारिश्रमिकमा १ करोड ६५ लाख ३७ हजार २ सय १, पोसाक खर्च ३ लाख २० हजार, महँगी भत्ता ६ लाख ७१ हजार ३ सय ४०, कर्मचारी प्रोत्साहन भत्ता ७ लाख ७६ हजार ५ सय ३४, अन्य भत्ता ९६ हजार २ सय २४, पदाधिकारी अन्य सुविधा ३ लाख २४ हजार ८ सय ३३, खर्च भएको उनले बताए । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा जम्मा ५ करोड ७१ लाख ६४ हजार ३ सय ६२ रुपैयाँ खर्च भएको उनले जानकारी दिए । उक्त शिर्षकहरुमा २५ करोड ४ लाख ७० हजार विनियोजन भएकोमा ५ करोड ७१ लाख ६४ हजार ३ सय ६२ रुपैयाँ खर्च भई १९ करोड ३३ लाख ५ हजार ६ सय ३७ रुपैयाँ बाँकी रहेको सूचना अधिकारी उपाध्यायले बताए ।
प्रकाशित समय १९:२७ बजे

















