गृहपृष्ठ संक्रमणदर उस्तै, एकैदिन १,२२८ जनामा कोरोना पुष्टि

संक्रमणदर उस्तै, एकैदिन १,२२८ जनामा कोरोना पुष्टि

थप ९१७ जनाले जिते कोरोना, हालसम्म २४,२०७ डिस्चार्ज

देशभर अधिकांश स्थानमा निषेधाज्ञा जारी रहे पनि कोरोना संक्रमणदर भने उस्तै रहेको छ । हरेक दिन एक हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बुधबार ३२० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएको थियो ।

विभिन्न प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३ सय ५७, भक्तपुर ४२ र ललितपुरमा ४६ जनामा कोरोना पुष्टि भएको हो । बुधबार काठमाडौं उपत्यकामा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अब देशभर कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २ सय ७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६ सय ७१ र होम आइसोलेशनमा ७ हजार ७ सय ४२ जना रहेका छन् । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु