गृहपृष्ठ कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, थप १,०४१ जनामा संक्रमण पुष्टि
कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, थप १,०४१ जनामा संक्रमण पुष्टि
हालसम्म २७,१२७ जना कोरोनामुक्त, मृतक संख्या २८० पुग्यो
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या घट्ने क्रममा देखिँदैन । दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घन्टाभित्र विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितमध्ये ३ सय ४९ महिला र ६ सय ९२ पुरूष हुन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको थियो । शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको जानकारी दिए ।
शुक्रबार १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरूष गरी थप १३ सय ५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको थियो । शुक्रबार ४ महिलासहित १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको प्रवक्ता गौतमले जानकारी दिए । संस्थागत आइसोलेशनमा ९ हजार ८ सय ६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ । शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।
गत २४ घण्टाभित्र थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अब नेपालमा मृतकको संख्या २ सय ८० पुगेको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय १६:३२ बजे

















