गृहपृष्ठ लकडाउनका असरले आर्थिक वृद्धिदर २.७ प्रतिशतले ऋणात्मक

लकडाउनका असरले आर्थिक वृद्धिदर २.७ प्रतिशतले ऋणात्मक

Economic Growth_NewsKarobar

देशभरि पाँच महिनाभन्दा लामो समयदेखि कोरोना भाइरस (कोभिड-१९)को महामारी विस्तार हुन नदिन लगाइएको लकडाउनले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको छ ।

देशको तथ्यांकीय निकाय केन्द्रीय तथ्यांक विभागले गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर २.७ प्रतिशतले ऋणात्मक भएको स्वीकार गरेको छ । विभागले भर्खरै तयार पारेको गत आवको पहिलो ९ महिनासम्मको राष्ट्रिय लेखा तथ्यांकअनुसार तेस्रो त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर २.७ प्रतिशतले संकुचित भएको हो ।

विभागका अनुसार मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी) २.७२ प्रतिशतले संकुचित (-२.७२प्रतिशत) भएको हो । मौसमी प्रभावलाई समायोजन नगरिँदा भने त्रैमासिक आर्थिक वृद्धिदर ०.८ प्रतिशत कायम भएको विभागले जनाएको छ ।तथ्यांक विभागका अनुसार अघिल्लो त्रैमासिक अवधि (माघसम्म)को मौसम प्रभाव समायोजित वृद्धिदर पनि ०.८ प्रतिशतमात्र थियो।

कोभिड-१९ संक्रमणलाई रोकथाम गर्न लगाइएको लकडाउनका कारण सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएका कारण आर्थिक वृद्धिदर ऋणात्मक भएको हो । यो पहिलो चैत मसान्तसम्मका तथ्यांकले देखाएको अवस्था हो, अन्तिम त्रैमासिक (वैशाख-असार)को अवस्था गणना गर्दा समग्र आर्थिक अवस्था अझ चिन्ताजनक ढंगले तल झरेको देखिन्छ ।

तथ्यांक विभागले वैशाखसम्मका तथ्यांकलाई आधार मानेर तेस्रो त्रैमासिक अवधिको राष्ट्रिय लेखा तथ्यांक तयार पारेको विभागका अधिकारीहरू बताउँछन् । यो अघिल्लो त्रैमासिक अवधिको तुलनामा सर्वाधिक ठूलो संकुचन हो। विभागले गत वैशाखमै वार्षिक अनुमानका आधारमा राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको थियो, जसमा वार्षिक २.३ प्रतिशतले वृद्धिदर हासिल हुने अनुमान गरिएकोमा कोभिड-१९ का असरको गणनासहित यो त्रैमासिक लेखा तथ्यांक जारी भएको हो ।

लकडाउनले सबैभन्दा बढी औद्योगिक वस्तुको उत्पादन, होटल तथा रेष्टुराँ, निर्माण क्षेत्र र खानी तथा उत्खनन क्षेत्रमा प्रभावमा पारेको त्रैमासिक जीडीपीको गणनाले देखाएको छ । त्यसपछि खानी तथा उत्खनन, थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता, विद्युत्,ग्याँस तथा पानी क्षेत्रको आर्थिक वृद्धिदर ऋणात्मक रहको विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार औद्योगिक क्षेत्र १६.३० प्रतिशतले, निर्माण १३.५३ प्रतिशतले, होटल तथा रेष्टुराँ १३.५१ प्रतिशतले, खानी तथा उत्खनन ९.२१ प्रतिशतले संकुचित भएका छन् । यस्तै, थोक तथा खुद्रा व्यापार ५.१२ प्रतिशतले, वित्तीय मध्यस्थता २.९४ प्रतिशतले, विद्युत्,ग्याँस तथा पानी २.६८ प्रतिशतले र मत्स्यपालन क्षेत्र ०.४० प्रतिशतले संकुचित भएको विभागको तथ्यांकले देखाएको छ । यो मौसमी प्रभाव समायोजित तथ्यांक हो ।

विभागले कृषि क्षेत्रमा ०.५ प्रतिशतको सामान्य वृद्धि भएको जनाएको छ भने यातायात गोदाम तथा सञ्चार,अन्य सामाजिक कार्य, सार्वजनिक प्रशासन तथा सुरक्षा, शिक्षा, स्वास्थ्य क्षेत्रको सेवामा पनि सामान्य वृद्धि भएको उल्लेख गरेको छ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु