गृहपृष्ठ बेवारिसे शव जलाउने सपना मगर विश्वका प्रभावशाली महिलाको सूचीमा

बेवारिसे शव जलाउने सपना मगर विश्वका प्रभावशाली महिलाको सूचीमा

बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले यस वर्ष (सन् २०२०) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका सय जनामा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् । सोमबार राति सार्वजनिक सूचीमा पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएकी सपना पनि परेकी हुन् ।

जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो । यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन् ।

‘यस वर्ष पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो परिवर्तन र उत्प्रेरक कामको नेतृत्व गर्दै अघि बढेका छन्’, बीबीसीले उल्लेख गरेको छ, ‘एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको मद्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जलिस्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खालि छाडिएको छ ।’

सपना बेवारिसे भएकाहरू, पशुपतिमै मागेर खानेहरू, बाटो बिराएर अन्जान ठाउँमा आई मरेकाहरू सबैको मृत्युसंस्कार गर्दै आएकी छन् । सपनाले तीन दर्जनभन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।

प्रकाशित समय १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु