गृहपृष्ठ एनआईसी एसिया बैँकको क्रेडिट कार्डबाट सामान किन्दा किस्ताबन्दीमा भुक्तानी सुविधा

एनआईसी एसिया बैँकको क्रेडिट कार्डबाट सामान किन्दा किस्ताबन्दीमा भुक्तानी सुविधा

एनआईसी एसिया बैँकले क्रेडिट कार्डबाट सामान किन्दा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुविधा दिएको छ । नगदरहित कारोबारमा ग्राहकलाई आकर्षित गर्ने तथा आवश्यक सामग्री एवं सेवा खरिदमा सहजीकरण गर्ने उद्देश्यले बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै पीओएस मर्चेन्टमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘इन्स्टा-बाइ’ योजना सञ्चालनमा ल्याएको हो ।

यससँगै बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले एकैपटकमा खरिद सामग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोतअनुसारको किस्ता अवधि छनौट गर्न सक्ने भएका छन् । क्रेडिट कार्ड प्रयोगकर्ताले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहनालगायतका सामग्री तथा सेवाको खरिद रकम न्यूनतम् ३ देखि अधिकतम १८ महिनासम्ममा बैंकलाई भुक्तानी गर्न सकिनेछ । ग्राहकले क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपछि शाखा कार्यालयमा गएर किस्ताबन्दीका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

इन्स्टा-बाइ योजनाले कोरोनाभाइरसको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बैंकको विश्वास छ । यो योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताले चाहेको सामग्री तथा सेवा तत्काल प्राप्त गर्ने र अर्कोतिर मर्चेन्टहरूले बिक्री भएको सामग्री तथा सेवाको तत्काल भुक्तानी प्राप्त गरी भरपुर फाइदा उठाउन सक्ने बैँकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने रणनीतिअनुरुप एनआईसी एसियाले विभिन्न सेवा तथा सुविधालाई डिजिटलमैत्री बनाउँदै लगेको छ । बैंकले मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २ हजार ३०० भन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । देशभर एनआईसी एसियाका ३२७ शाखा कार्यालय, ४७० एटीएम, १०२ वटा एक्स्टेन्सन काउन्टर र ७३ वटा शाखारहित बैंकिङ इकाइ छन् । बैंकका ग्राहक २२ लाखभन्दा बढी छन् ।

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु