गृहपृष्ठ योगेश भट्टराई संसदीय सुनुवाइ समितिको सभापति बन्दै
योगेश भट्टराई संसदीय सुनुवाइ समितिको सभापति बन्दै
फाइल तस्बिर
संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी नेकपाका सांसद योगेश भट्टराईले पाउने लगभग पक्का भएको छ । सोमबार गठन भएको सो समितिले सभापतिमा भट्टराईलाई चयन गर्ने छ । संसदीय सुनुवाई विशेष समितिमा १५ सदस्य रहनेछन् । ती मध्ये १२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रियसभाका सदस्यको नाम स्वीकृत भईसकेको छ ।
भट्टराईलाई सभापति बनाउने विषयमा पार्टी संसदीय दलमा छलफल भएको सासदहरुले बताएका छन् । समितिको औचित्यमाथि प्रश्न उठ्दै आएको सन्दर्भमा राम्रो काम गर्ने क्षमता भट्टराईमा देखिएकोले उनैलाई सभापति चयन गर्न प्रस्ताव आएको नेकपाका सांसदहरुले बताएका छन् ।
‘संवैधानिक अंगका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निर्णायक हुन्छ । तर, हालसम्म संसदीय सुनुवाई कर्मकाण्डी मात्रै हुने गरेको छ’ नेकपाका एक सांसदले न्युज कारोबारसँग भने, ‘तर भट्टराईजी प्रखर नेता भएकाले उहालाई सभापति बनाउँने तयारी छ ।’
संसदीय सुनुवाईको काम विशेषगरी, कुनै पनि व्यक्तिलाई संवैधानिक पदमा नियुक्ति गर्नुअघि अनुमोदन गर्ने हो । तर यसअघि जतिसुकै विवादास्पद व्यक्ति भए पनि संसदीय सुनुवाईबाट अनुमोदन हुने गरेका थिए ।
नेकपाले युवा नेता भट्टराईलाई सुनुवाई समितिको सभापति बनाउन खोज्नुको अर्थ समितिको प्रभावकारिता बढाउने मनसाय रहेको बताईन्छ । पहिलो पटक संसदमा निर्वाचित भएका भट्टराई मन्त्री बन्ने चर्चामा रहे पनि अन्तिममा उनी प्रधानमन्त्रीको रोजाइमा परेनन् । उनलाई कुनै एक पदमा व्यवस्थापन गर्न पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समितिको सभापति बनाउन सकारात्कम देखिएका छन् ।
समितिको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने छ भने सके सर्वसम्मत नभए दुई तिहाई मतले समिति भित्रकै एक सदस्य सभापतिमा चयन गर्ने छ । संसदिय सुनुवाई विषेश समितिमा नेकपाका ९ जना सदस्य रहेकोले नेकपाकै उम्मेदवार विजयी हुनेछन् ।
समितिमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट १–१ जना सदस्य छन् । समितिमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्ष र कानूनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।
संसदीय सुनुवाई समिति गठन भएसँगै लामो समयदेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्ने छ । त्यस्तै अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुख तथा विभिन्न देशमा राजदुतहरुको सुनुवाई प्रक्रिया अघि बढ्ने छ ।
याे पनि पढ्नुहाेस् ।
कांग्रेसको सार्वजनिक महत्वको प्रस्तावमा छलफल जारी, ‘इमोसनल ब्याकमेलिङ’ नगर्न योगेश भट्टराईकाे अाग्रह
प्रकाशित समय १७:०२ बजे

















