गृहपृष्ठ कांग्रेसका भ्रातृ संगठनको विराटनगरमा मोटरसाइकल र्याली
कांग्रेसका भ्रातृ संगठनको विराटनगरमा मोटरसाइकल र्याली
केपी शर्मा ओली नेतृत्वको सरकार अभिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसका भ्रातृसंगठन सडकमा उत्रिएका छन् । सरकार गठन भएको पाँच महिना बितिसक्दा पनि जनजीविकाका मुद्दातर्फ केन्द्रित नभएको भन्दै उनीहरुले सोमबार मोटरसाइकल र्याली निकालेका हुन् । कांग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै छ ।
सरकारका हरेक कार्यशैली जनविरोधी भएको भन्दै मोरङ कांग्रेसले जनाएको छ । त्यसै पूर्वसन्ध्यामा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ र नेपाल ट्रेड युनियनले सोमबार विराटनगरमा मोटरसाइकल र्याली निकालेका हुन् । हाटखोला खेलमैदानबाट निस्किएको र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेलगायतका माग राखेर कांग्रेसले सडक आन्दोलन सुरु गरेको हो ।
र्यालीपछि जनआन्दोलन चोकमा आयोजित कोणसभामा बक्ताहरुले सरकारलाई लोकतान्त्रिक मूल्य मान्यताअनुसार हिँडाउन आन्दोलन सुरु गरिएको बताए ।
प्रकाशित समय १८:१५ बजे

















