गृहपृष्ठ अब को बन्ला प्रधानन्यायाधीश ?

अब को बन्ला प्रधानन्यायाधीश ?

 

संसदीय सुनुवाइ समितिको मतदान प्रक्रियाबाट दीपकराज जोशी अस्वीकृत भएपछि प्रधानन्यायाधीश को बन्छ ? भन्ने सर्वत्र चासो छ । वरीयताक्रमका हिसाबले जोशीपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बन्न सक्ने सम्भावना छ । किनकि उनी सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हुन् ।

नेपालमा अन्तरिम संविधान २०६३ पछि प्रधानन्यायाधीश, न्यायाधीश, राजदूत र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइको व्यवस्था गरिएको हो । यस अवधिमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने जोशी पहिलो हुन् । अब संसदीय सुनुवाइको इतिहासमा सुनुवाइ समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश बन्न पुगेसँगै अब संवैधानिक परिषद्ले नयाँ नाम सिफारिस गर्नुपर्नेछ ।

समितिबाट नाम अनुमोदन भएमा वरिष्ठतम् न्यायाधीश मिश्र प्रधानन्यायाधीश हुनेछन् । मिश्र अनुमोदन हुन नसके चोलेन्द्र शमशेर जबराको पालो आउनेछ । किनकि मिश्रपछिको वरीयतामा जबरा छन् ।

नेपालको संविधानमा न्यायपरिषद्ले पठाएको न्यायाधीशहरुको अभिलेखअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ । सोही प्रक्रियाअनुसार तीनजना न्यायाधीश सिफारिस भए पनि जाेसी पछि पहिलो वरीयतामा मिश्र नै रहेकाले उनी नै प्रधानन्यायाधीश बन्ने बढी सम्भावना छ ।

संवैधानिक परिषद्को गएको जेठ २९ गते बसेको बैठकले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि साउन १० गते जोशीका सम्बन्धमा समितिमा सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा समितिका दुई तिहाई सांसदले विभिन्न पाँच कारण देखाउँदै अनुमोदन नगरेका हुन् ।

 

यसकारण अस्वीकृत भए जोशी
१. प्रधानन्यायाधीश नियुक्त भए के–कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेस गर्न नसकेको,
२. सुनुवाइका क्रममा आचरण, इमानदारी र कार्यक्षमताबारे सोधिएका प्रश्नको प्रस्ट र सन्तोषजक जवाफ दिन नसकेको,
३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति फरक–फरक रहेको । यसबारे जोशीले यथेष्ठ प्रमाण पेस गर्न नसकेको,
४. जोशीको सार्वजनिक आचरण र विगतका काम–कारबाहीबारे पूर्वन्यायाधीशहरुबाटै प्रश्न उठेको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्यायप्रणालीमा योगदान दिन सक्ने दृष्टान्त पेस गर्न नसकेको र
५. जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको ।

प्रकाशित समय १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु