गृहपृष्ठ विश्वकप क्रिकेटको ट्रफी नेपालमा
विश्वकप क्रिकेटको ट्रफी नेपालमा
विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन समेत गरिएको छ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत नेपाल ल्याइएको हो ।
ट्रफी नेपालमा सोमबारसम्म राखिनेछ । आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ । पोखरामा पोखरा प्रिमियर लिग (पीपीएल) चलिरहेको छ ।
शनिबार त्यही ट्रफी प्रदर्शन गरिनेछ । ट्रफीलाई पुन काठमाडौं ल्याइनेछ र आइतबार विहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा प्रदर्शन गरिनेछ ।
आइसीसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमीरेले ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु रहेको बताईन् । ‘क्रेज बढाउने, पर्यटन प्रवद्र्धन गर्नु हो,’ उनले भनिन् । आइसीसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गरेको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको घिमिरेको भनाइ छ ।
विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याईएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।
एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ । ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इंग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।
प्रकाशित समय १९:५५ बजे

















