गृहपृष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि तुलाधारलाई कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो । मस्तिष्कघात भएपछि अस्पताल लगिएको उनको उपचारको क्रममा निधन भएको हो ।

२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित तुलाधर २०५१ सालमा एमालेको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए । उनले तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका समेत निर्वाह गरेका थिए ।

नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर भाषिक आन्दोलनमा लागेका काठमाडौंका रैथाने तुलाधर चालीसको दशकअघि भाषिक अधिकारकर्मीका रुपमा परिचित थिए । पछि उनी राजनीतिमा एमालमा आएका थिए । माओवादीनिकट रहेका उनी संविधानसभा निर्वाचनपछि पहिचानवादी आन्दोलनमा लागेका थिए ।

२०४६ सालको जनआन्दोलनको क्रममा समेत उनी सक्रिय थिए । पञ्चायतविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र बाममोर्चालाई एक ठाउँमा ल्याउने सूत्रधारको रुपमा उनलाई पनि चिनिन्छ ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु