गृहपृष्ठ सत्र वर्षकै उमेरमा अामा बन्दा सबै अवसर गुमे

सत्र वर्षकै उमेरमा अामा बन्दा सबै अवसर गुमे

  • सन्दर्भ : विश्व बुवाआमा दिवस

सीता वली
सुर्खेत– ‘किशोरावस्थामा कसैले ‘यसो नगर’ भन्दा पनि रिसले भन्या जस्तो लाग्ने र’छ । म १७ वर्षकी थिएँ । शिखर माध्यमिक विद्यालय रामघाटमा कक्षा ६ मा पढ्दै गर्दा कसैसँग प्रेम भयो । प्रेम के हो भन्ने थाहै नपाई प्रेम भयो । गाउँमा मेरो प्रेमको हल्ला चलेपछि आमाबुबाले मलाई खुब सम्झाउनुभयो । विवाह नगर, सानै उमेरमा विवाह गरेपछि दुःख पाइन्छ । मलाई हाँसो लाग्थ्यो । विद्यालयमा शिक्षकहरुले समेत बालविवाहको बारेमा नसम्झाएको होइन । तर, आफैंले नभोगी कहाँ थाहा हुन्थ्यो, मेरो प्रेम विवाहमा परिणत भयो १७ वर्षमै र १८ वर्षमा म आमा बनेँ ।’
यो वास्तविक कथा हो– भेरीगंगा नगरपालिका–५ की निर्मला बिकको । त्यसपछि मात्र उनले जीवनको महत्व बुझिन् । विवाहपछि पढ्न छाडिन् । ‘बच्चा भएपछि कसरी पढ्नु ? घरको काम र बच्चाको स्याहार–सुसारमै दिन बित्छ हिजोआज,’ लामो सुस्केरा हाल्दै उनले भनिन् । विवाहअघिको जीवन र पछिको जीवनमा आकाश पाताल फरक छ । ‘विवाहपछि सबै अवसर गुमाइँदो र’छ,’ निर्मला भन्छिन्, ‘सानै उमेरको विवाहले स्वास्थ्यमा समेत समस्या देखापर्ने र’छ । मानसिक तनाव त कति हो कति ।’ आर्थिक संकट पनि सानै उमेरको विवाहले निम्त्याएजस्तो लाग्छ उनलाई । भन्छिन्, ‘हिजोआज त यस्तो लाग्छ– उमेर पुगेर, पढाइ सकेर, जागिर खाएरमात्र विवाह गरेको भए जीवन कति सरल हुन्थ्यो होला !’
बराहताल–९ कुनाथरीकी २० वर्षीया मेनुका पोखेरलले पनि १७ वर्षकै उमेरमा विवाह गरिन् । विवाहपछि उनका पनि कति–कति सपना सबै अलपत्र परे । विवाहपछि पढ्ने रहरलाई मेनुकाले घरको जिम्मेवारीसँग साट्नुपर्यो । आर्थिक संकट, स्वास्थ्यमा समस्या र मानसिक तनाव बालविवाहको पहिचान भन्न पनि पछि पर्दिनन् मेनुका ।
उनीमात्रै होइन, चिङ्गाड गाउँपालिका–४, मटेलाकी दुर्गा सुनारले त झन् १६ वर्षकै उमेरमा विवाह गरिन् । २० वर्षको उमेरमा दुर्गाले दुईवटा बच्चालाई जन्म दिइसकेकी छन् । विवाहपछि दुर्गाको पनि जीवन सरल भएन । पढ्ने रहर गुमाइन्, घरको बोझ थेगिन् अनि स्वास्थ्यलाई दाउमा राखेर उमेर नपुग्दै बच्चा जन्माइन् । ‘पढ्न रहर त थियो तर विवाहको एक वर्षमै पहिलो बच्चा जन्मियो, त्यसपछि दोस्रो,’ उनले भनिन्, ‘अनि कसरी पढ्ने ? छोराछोरी कसरी हुर्काउने र पढाउने, चिन्ता लाग्छ ।’

तीनैजना बालिका आमाका श्रीमानको कमाइ खाने ठाउँ भारत हो । कलिलो उमेरमै आमाबाबुको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता उनीहरुमा छ । यस्ता कति आमा होलान् जो आफैं बालिका/किशोरी छन् । आफैं अर्काको भरमा बाँच्नुपर्ने उमेरका बालिका आमा बन्दा पीडाको सागरमा डुब्न बाध्य छन् ।
क्षेत्रीय अस्पताल सुर्खेतमा २०७४ साउनदेखि पुससम्म सुत्केरी १९ सय ९९ मा बालिका आमा चार सय १० जना रहेको क्षेत्रीय अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । उनका अनुसार बाँकी १६ सय ८९ आमा कसैका दोस्रो बच्चा भएकाले बालिका आमाको तथ्यांक कम देखिएको हो ।
बालिका आमा बन्दा शारीरीक तथा मानसिक रुपमा आमालाई समस्या हुने र बच्चालाई राम्रो पोषण तथा स्याहारसुसार गर्न नसक्ने भएकाले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने बताउँछन्– क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्का । ‘बालिका आमा बन्दा डिप्रेसन हुने, गर्भलाई हल्का रुपमा लिने र परिवार नियोजनको साधनसमेत प्रयोग गर्न नजान्नाले वर्षैपिच्छे बच्चा जन्माई आङ खस्ने समस्या पैदा हुने गर्छ,’ उनी भन्छन्, ‘क्षेत्रीय अस्पताल सुर्खेतमा यस्ताखालका जटिल केससमेत आउने गरेका छन् ।’

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु