गृहपृष्ठ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम
स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम
कञ्चनपुरका नौ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यत्रम सुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले थालेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा बोर्डले जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम सुरु गरेको हो ।
चार वर्षअघि सुदूरपश्चिम प्रदेशको कैलालीबाट सुरु भएको बिमा कार्यक्रम हाल मुलुकका ४४औँ जिल्लाको रूपमा कञ्चनपुरमा लागू भएको बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउदले जानकारी दिए । सुदूरपश्चिमको डोटी र डडेल्धुराबाहेक सात जिल्लामा बिमा कार्यक्रम लागू भइसकेको छ ।
स्वास्थ्य बिमा बोर्डले कञ्चनपुरका सबै स्थानीय तहमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचांकमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पुर्याउने लक्ष्य राखेको छ ।
पाँच जना सदस्य रहेको परिवारले वर्षको साढे दुई हजार रुपैयाँ प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ भने, सो बापत वर्षभरिमा ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिन पाइने प्रावधान छ । पाँचभन्दा बढी सदस्य भएका परिवारले एक व्यक्ति बराबर थप ४५० रुपैयाँ बढी तिरेर बिमा सदस्य बनेर उपचार सेवा लिन सकिने व्यवस्था रहेको छ ।
प्रकाशित समय १०:४४ बजे

















