गृहपृष्ठ नेपाल टेलिकम र विश्वविद्यालय अनुदान आयोगबीच सम्झौता
नेपाल टेलिकम र विश्वविद्यालय अनुदान आयोगबीच सम्झौता
कोभिड १९ का कारणले सिर्जित महाविपत्तिको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्न विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता भएको छ । शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा न टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र ढुंगेलले हस्ताक्षर गरेका छन् ।
कोभिड १९ शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्न विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाका गाइडलाइन्स फर फ्यासिलिटेटिङ अल्टनेटिभ मोड अफ लर्निङ इन हाइयर एजुकेसन २०७७ लाई मध्यनजर गरी सम्झौता भएको हो । टेलिकम र आयोगको विशेष सक्रियतामा सम्पन्न सम्झौताबमोजिम मुलुकका सबै विश्वविद्यालय र आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउनेछ ।
प्याकेजअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५ सय रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ । यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिनेछ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने हाम्रो प्रयास चुनौतीहरुको सामना गर्दै चाँडै कार्य रुपमा आउन लागेको बताए । मुलुकको उच्च शिक्षाको व्यवस्थापन गरिरहेको आयोग र अत्याधुनिक दूरसञ्चार सेवा प्रदान गरिरहेको टेलिकमबीच भएको यो सम्झौताले विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताले किफायती मूल्यमा प्रविधिको प्रयोगबाट शिक्षा र ज्ञान आदानप्रदान गर्नसक्ने उनले बताए ।
यस्तै आयोगका अध्यक्ष सुवेदीले जस्तोसुकै संकटको अवस्थामा पनि मुलुकका शैक्षिक कार्यक्रमहरु नरोक्न र सहज रुपले सरल मूल्यमा पठनपाठन र अनुसन्धानका काम जारी राख्न यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले विषम अवस्थामा मुलुकको शैक्षिक वातावरण सहज बनाउन कम्पनीले सक्नेसम्म सबै कार्य गर्ने उल्लेख गरे ।
प्रकाशित समय ०६:५६ बजे

















