गृहपृष्ठ विश्वभर कोरोना मृत्युदर ३.४३ प्रतिशतमा झर्‍यो, डिस्चार्ज ६८.६९ प्रतिशत

विश्वभर कोरोना मृत्युदर ३.४३ प्रतिशतमा झर्‍यो, डिस्चार्ज ६८.६९ प्रतिशत

नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट हुने मृत्युदर लगातार ओरालो लागेको छ । संख्यात्मक आधारमा २ करोड ३८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ८ लाख १६ हजार ५५१ जनाको ज्यान गएको छ, जुन कुल संक्रमितको ३.४३ प्रतिशत हो । दुई साताअघि (साउन २० गते) मृत्युदर ३.७८ प्रतिशत थियो भने वैशाख १६ गते सर्वाधिक ६.९ प्रतिशत थियो ।

त्यस्तै डिस्चार्ज दर पनि उकालो लागिरहेको छ । मंगलबार बिहानसम्ममा कुल संक्रमितको ६८.६९ प्रतिशत अर्थात १ करोड ६३ लाख ४९ हजार मानिस कोरोनालाई जितेर घर फर्किएका छन् । डिस्चार्ज दर वैशाख १६ गतेसम्ममा ३०.१ प्रतिशत थियो भने साउन २० गतेसम्ममा ६३.३ प्रतिशत थियो । दुई सातापछि मंगलबार बिहानसम्ममा डिस्चार्ज दर ५.३९ प्रतिशतले बढेको हो ।

बितेका २४ घण्टामा २ लाख १२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ४ हजार ३२७ जनाको मृत्यु भएको छ । यो अवधिमा भारतमा सबैभन्दा धेरै ५९ हजार ६९६ जना संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा ४१ हजार ४७०, ब्राजिलमा २१ हजार ४३४, कोलम्बियामा १० हजार ५४९ र अर्जेन्टिनामा ८ हजार ७१३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै २४ घण्टामा भारतमा सर्वाधिक ८५४ मानिसको कोरोनाबाट मृत्यु भएको छ । ब्राजिलमा ६७९, अमेरिकामा ५०९, अर्जेन्टिनामा ३८१, कोलम्बियामा २९६ र मेक्सिकोमा २२६ जना मानिसको यो अवधिमा मृत्यु भएको छ ।

हाल कोरोना संक्रमित ६६ लाख ३५ हजार ८३९ मानिसमध्ये ६५ लाख ७४ हजार १९१ मानिसको अवस्था सामान्य छ भने ६१ हजार ६४८ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु