गृहपृष्ठ वैशाखमा नेपालको भू-उपग्रह प्रक्षेपण हुँदै
वैशाखमा नेपालको भू-उपग्रह प्रक्षेपण हुँदै
नेपालले आगामी वैशाखमा आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो ।
‘बड् थ्री’ नामक भू-उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउँछन् ।
सरकारले सहुलियत मूल्यमा तीनवटा भू-उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनी आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको बताउँछन् ।
वैशाखदेखि प्रक्षेपण हुने उक्त भू-उपग्रहबाट दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्बिर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ ।
सङ्काय प्रमुख ढकालले भने, ‘२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू-उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।’
प्रक्षेपणपछि नेपालको आफ्नै भू-उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ ।
उक्त भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्बिर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्बिर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदै आएको छ ।
सुभानु आचार्य/रासस
प्रकाशित समय १६:१४ बजे

















