गृहपृष्ठ देशका ४२ स्थानीय तहमा छैनन् सडक
देशका ४२ स्थानीय तहमा छैनन् सडक
सरकारले सडक सञ्जालले छुन बाँकी एउटा जिल्लामात्र बाँकी भनेर बारम्बार भन्ने गरे पनि वास्तविकता अर्कै भएको तथ्य भेटिएको छ । स्थानीय पूर्वाधार विभागका अनुसार अझै देशका ४२ वटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन ।
ती ४२ पालिकाहरूका कुल ४ सय ४३ वटा वडाहरूमा सडकको पहुँच छैन । विभागका अनुसार मुस्ताङबाहेक देशका प्रायः सबै हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा सडक सञ्जालले छोएको छैन ।
सबैभन्दा बढी सडक सञ्जाल नपुगेका प्रदेशहरूमा कर्णाली अगाडि । कर्णालीका २४ वटा पालिकाहरूमा सडक सञ्जाल पुगेका छैनन् । तुलनात्मक रूपमा केही सुगम मानिएको प्रदेश नं १ मा ७ वटा र सुदूरपश्चिमका ६ वटा पालिकामा सडक सञ्जाल पुगेका छैनन् ।
यस्तै, प्रदेश नं ३ का ३ वटा र गण्डकीका २ वटा पालिकामा सडक पुगेको छैन । विभागका अनुसार प्रदेश नं २ र ५ मा सतप्रतिशत सडक सञ्जाल पुगेको छ, यी नेपालका तराई–मधेश क्षेत्रहरू भएका प्रदेश हुन् ।
मध्य–पहाडी क्षेत्रका भोजपुर, खोटाङमात्र नभएर भित्री मधेश क्षेत्रको काभ्रेपलान्चोक र मकवानपुरका समेत केही पालिकामा सडक सञ्जाल पुगेको छैन ।
सरकारले स्थानीय तहहरूका लागि दिइने सशर्त र निःशर्त अनुदानबाहेक, केन्द्रीय राजस्वको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कको १५ प्रतिशत रकम पनि बाँडफाँट गरेर पठाउने गरेको छ । यस्तो स्रोतको ठूलो रकम पालिकाहरूले अहिले ‘डोजरे सडक’का लागि खन्याउने गरेका छन् ।
सार्वजनिक खरिद नियमावलीअनुसार १ करोड रुपैयाँभन्दाका साना निर्माणका कार्यहरू उपभोक्ता समितिमार्फत गर्नुपर्ने नियम भए पनि नक्कली, देखावटी उपभोक्ता समिति गठन गरेर स्थानीय तहहरूले डोजर लगाएर बिनाकुनै इन्जिनियरिङ इस्टिमेट सडक खनाउने गरेका छन् ।
स्थानीय पूर्वाधार विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा स्थानीय तहअन्तर्गत बनेको सडक ६० हजार १६२ किलोमिटर पुगेको छ । यसमध्ये गाउँस्तरीय सडक ३२ हजार १३९ किलोमिटर, सहरी सडक ५९७ किलोमिटर र जिल्लास्तरीय सडक २७ हजार ४२६ किलोमिटर छ ।
सडक सञ्जालले सबैभन्दा कम छोएको कर्णाली प्रदेशमा जम्मा २ हजार ६८७ किलोमिटर स्थानीय सडक खनिएकोमा जम्मा ५५ किलोमिटरमात्रै कालोपत्रे भएको छ ।
प्रकाशित समय १४:३७ बजे

















