गृहपृष्ठ पाकिस्तानी प्रधानमन्त्री खानले गरे पूर्वप्रधानमन्त्रीको आलोचना
पाकिस्तानी प्रधानमन्त्री खानले गरे पूर्वप्रधानमन्त्रीको आलोचना
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकामा आफ्ना पूर्वप्रधानमन्त्री नवाज सरिफको आलोचना गरेका छन् । तीनदिने औपचारिक भ्रमणमा रहेका खानले जेलभित्र पनि सरिफले एयरकन्डिसनसहितको कोठामा बसेर टिभी हेर्दै खाना खाएको भन्दै आलोचना गरेका हुन् ।
पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै खानले सरिफले पाउँदै आएको सबै सुविधा कटौती गर्ने बताए । ‘आधा पाकिस्तानीसँग एयर कन्डिसन र टिभी छैन, त्यस्तो देशमा जेलमा रहने अपराधीलाई सुविधायुक्त बनाउन सकिँदैन,’ उनले भने ।
सन् २०१३ देखि २०१७ सम्म पाकिस्तानका प्रधानमन्त्री बनेका सरिफ अलअजिज स्टिल मिल्स भ्रष्टाचार मुद्दा दोषी देखिएका छन् । सात वर्ष जेल सजाय पाएका उनी अहिले लाहोरको जेलमा छन् । पाकिस्ताको अर्थतन्त्र सुधारमा लागि परेका खानले यसअघि सरकार चलाएका नेताहरूले विदेश पठाएको सम्पत्ति जफत गर्ने प्रक्रिया सुरु गरिसकेका छन् ।
प्रकाशित समय १७:०३ बजे

















