गृहपृष्ठ मालीमा हेलिकप्टर दुर्घटना : फ्रान्सका १३ सैनिकको ज्यान गयो

मालीमा हेलिकप्टर दुर्घटना : फ्रान्सका १३ सैनिकको ज्यान गयो

पेरिस । मालीमा हेलीकप्टर दुर्घटनामा परी कम्तीमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको मालीका सुरक्षा अधिकारीले जनाएका छन् ।

अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको हो ।

फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ ।

मालीको लिप्ताको क्षेत्रमा विद्रोहीविरूद्धको स्थल सेनालाई सघाउन पुगेका हेलीकप्टर बुर्किना फासो र नाइजरको सीमा नजिकै मालीमा दुर्घटनाग्रस्त भएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ ।

मालीमा सरकारविरूद्ध सङ्घर्षरत स्लामिक विद्रोहीले पछिल्लो समय सैनिकका बाहिरी अखडाहरूलाई लक्षित गरी आक्रमण सशक्त पारेको थियो ।

विद्रोहीहरू जमिनमा मोटरसाइकल र ट्रकमा चढेर भागिरहेका समय सेनाको लागि बन्दोबस्तीका सामान र खाद्यान्न बोकेको एक हेलीकप्टर कोउगर र लडाकू हेलीकप्टर टाइगर एक आपसमा जुध्दा सेनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।

दुर्घटनामा भएको क्षतिबाट पाठ सिक्दै फ्रान्सको नेतृत्वमा रहेका गठबन्धन सेनाले आगामी हप्ताहरूमा साहेल क्षेत्रमा स्लामिक विद्रोहीविरूद्धको आक्रमणलाई थप सशक्त पार्ने राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताए ।

म्याक्रोँले दुर्घटनापछि माली, चाड र नाइजरका राष्ट्रपतिहरूसँग फ्रान्सको एलिसी दरबारमा भेटवार्ता गरेपछि उक्त कुरा बताए ।

मालीसहित चार पश्चिमी अफ्रिकी मुलुकमा फ्रान्सले चार हजार ५ सय ‘बार्खाने’ बल प्रयोग गरी स्लामिक विद्रोहीको सशस्त्र आक्रमणलाई अभियानका रूपमा निस्तेज पार्दै आएको छ ।

प्रकाशित समय ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु